वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष भिम बहादुर योगीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष योगीसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१-जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो, कति काम हुन बाँकी छ ?
स्वभाविक रुपमा सबैले निर्वाचनको प्रक्रियामा जाँदै गर्दा जनताहरुसँग धेरै भन्दा धेरै महत्वकांक्षा योजना बाँडेर भोट माग्ने प्रक्रिया चल्दै आएको छ । तर चुनावमा गरेको बाचाअनुसार विकास निर्माणको काम गर्न धेरै कठिन हुने रहेछ । हामी निर्वाचित भएर आएसँगै नेपालको अर्थतन्त्र, स्थानीय तहको अवस्था हेर्दा विकासका दृष्टिकोणले सोचेअनुसार लक्ष्य प्राप्ति गर्न नसके पनि विकास निर्माणको कामको सुरुवात भएको अवस्था छ । हामी आएको यो ढाई वर्षको अवधिमा हामीले दिएका आश्वासन मध्ये केही काम भइरहेका छन् । केही कामहरु गर्न बाँकी नै छन् । हामीले आफ्नो कार्यकालमा आश्वासन दिएका लगभग काम गर्छौ भनेर लागि रहेका छौं । हामीले वडामा रहेका सिंचाईका लागि कृषकहरुलाई आवश्यक पर्ने कुलानाला बनाउँदै आएका छौं । त्यस्तैगरी विद्यालयका संरचना बनाउने, बाटोहरुको स्तरबृद्धि गर्नुका साथै जुन टोलमा जुन ठाउँमा के कुराको आवश्यकता छ र हामीसँग भएको स्रोत साधनहरु जति छन् त्यसको अनुपातमा हामीले काम गर्दै आएका छौं ।
२- वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइदैन भन्ने गुनासो सुनिन्छ । तपाईको वडामा त्यस्तो छ, कि छैन् ?
हामी यहाँ भएका पाँचै जना जनप्रतिनिधि जनताबाट नै चुनिएर आएका हौं । तर नगरमा मेयरको नेतृत्व हुन्छ, भने वडामा वडाध्यक्षको नेतृत्व हुनु स्वभाविक कुरा हो । मैले वडाबाट हुने हरेक काम, हरेक गतिविधि गर्दा वडासदस्यहरुसँग सरसल्लाह, परामर्श गरेर त्यो कामको सुरुवात गर्दै आएको छु । प्रत्येक योजनाहरुमा काम गर्दा वडा सदस्यहरुलाई सहभागी गराउँने हुँदा पनि हाम्रो वडाका सदस्यहरुबाट त्यस्तो खालको गुनासो छैन जस्तो लाग्छ ।
३- वडामा भौतिक विकाससँगै मानवीय विकासको लागि के कस्ता कामहरु गर्नु भएको छ ?
हामीले हाम्रो वडामा भौतिक विकास सँगसंगै मानवीय विकासलाई उत्तिकै प्राथमिकता दिंदै आएका छौं । मानवीय विकासका दृष्टिकोणले हाम्रो वडामा भएका तर कुलतमा फसेर आफ्नो भविष्य र घरपरिवारको बारेमा चिन्ता नगर्ने खालका व्यक्तिहरुका लागि गएका वर्षहरुमा पनि प्रेरणात्मक ज्ञान दिने खालका कार्यक्रम गरेका थियौं । यो वर्ष पनि त्यस्तै खालको योजना बनाएका छौं । हामीले वडामा आउने मात्रै नभएर वडाका विभिन्न टोल संस्थाहरुमा, समुहहरुमा गएर पनि त्यस्ता खालका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने, आफ्नो भविष्यको लागि आफै केही गर्नुपर्छ भन्ने खालका कुराहरु सिकाउँदै आएको अवस्था छ । त्यसका साथै हामीले महिला दिदीबहिनीहरुका लागि विगतका वर्षदेखि नै कटाई सिलाईको तालिम दिँदै आएका छौं । अहिले पनि मकैको प्वाकबाट सामग्री निर्माण गर्ने तालिम सुरु गरेका छौं । सानो सिप सिके पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उद्देश्यका साथ अहिले करिब ३० जनाको टोलीलाई यस्तो खालको तालिम दिन लागेका छौं ।
४-जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले जनताबाट कस्ता खालका गुनासोहरु आउँछन् ? उहाँहरुको गुनासो कत्तिको सुन्नुहुन्छ ?
स्वभाविक रुपमा अहिले वडामा मात्रै नभएर राष्टिर्य रुपमा आएको राजनीतिक परिवर्तनसँगै जनताहरुले तीन तहको सरकार मध्ये कस्को अधिकार कतिसम्म भन्ने कुरा बुझ्नु भएको छैन् । अझ वडासँग संलग्न हुने जनताहरुको प्रत्यक्ष र अप्रत्यक्ष गुनासाहरु के छ भने हामीले जुन खालको आकांक्षा लिएका थियौं, राजनीतिक परिवर्तनसँगै विकासको दृष्टिकोणले जुन खालले फड्को मार्नु पर्ने हो, त्यो अनुसार विकास देख्न पाएनौं भन्नुहुन्छ । जस्लाई जिताए पनि के नै हुने रहेछ र ? हामीले रोजगारीको लागि आफ्नो परिवार पाल्नका लागि विदेश जानै पर्छ, हामीले वडाबाट के नै पाएका छौ र भन्ने जस्ता गुनासाहरु गर्नुहुन्छ । तर पनि हामीले सकभर जनताहरुको गुनासाहरु सुन्ने प्रयास गरिरहेका हुन्छौं । तर सबै जनताहरुले भनेअनुसारको काम गर्न सकिंदैन् । वडाबाट गर्न सकिने, अथवा पालिकाबाट, प्रदेश, केन्द्र सरकारसँग भनसुन गरेर हुने कामहरुमा हामीले पहल गर्दै आएका छौं ।
५-वडाको समग्र समृद्धिका लागि तपाईका भावि योजनाहरु के छन् ?
मैले अगाडि भनेझै भूगोलका हिसावले हाम्रो वडा सुगम वडा मानिन्छ । हामीले वडालाई समृद्ध बनाउन लिएको लक्ष्य के हो भने धेरै भन्दा धेरै किसाहरुलाई अझ बेमौसमी तरकारी खेति गर्ने किसानका लागि सिंचाई व्यवस्थित गर्नुपर्छ भन्ने उद्देश्यले विभिन्न ठाउँमा कुवाँ, डिप बोरिङ लगायत ड्वांगे खोलामा बृहत्त ड्याम बनाउँदै छौं । ड्याम बनेमा लिफ्ट मार्फत पानीले पुग्ने स्थानसम्म पर्याप्त मात्रामा किसानलाई पानी प्रवाहा गर्ने भन्ने पहिलो प्राथमिकता छ । त्यसका साथै ड्याम निर्माणको काम सम्पन्न भएपछि पर्यटनसँग जोड्ने पनि हाम्रो लक्ष्य छ । ड्याम निर्माण भएसँगै त्यहाँ डुंगा सञ्चालन गरेर पर्यटक भित्र्याउने योजनामा छौं । जसका लागि तुलसीपुर उपमहानगरले डुंगा उपलब्ध गराइसकेको छ ।
अर्को कुरा हाम्रो वडाबासीहरुलाई वडाको सबै ठाउँमा पक्की बाटो बनोस् भन्ने चाहना छ । तर हामीसँग पर्याप्त मात्रामा साधन स्रोत नभएकाले जनताहरुको चाहनाअनुसार काम हुन सकेका छैनन् । तर पनि हाम्रो साधन स्रोतले भ्याएसम्म बाटो पीच गर्ने, बाटोको स्तरउन्नति गर्ने, शिक्षाको क्षेत्रमा वडाका सबै बालबालिकाहरुलाई विद्यालयसम्म कसरी पुर्याउन सकिन्छ भनेर विभिन्न किसिमका आकर्षणका विषयवस्तुलाई जोडेर सबै बालबालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउने वडाको सोच छ । स्वास्थ्य क्षेत्रमा पनि पुँजीले भ्याएसम्म स्तरउन्नति गर्ने सोचमा छौं । हामी निर्वाचित भएर आएसँगै वडामा रहेको हेल्थ पोष्टमा सेवाग्राहीलाई बस्नको लागि ठाउँ बनाएका छौं ।
