काठमाडौं, १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौँ पुर्याइएको छ । कास्कीबाट काठमाडौँ ल्याइएर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएका उनलाई केहीबेर अगाडि वकिलको कार्यालय काठमाडौँ पुर्याइएको हो ।
सोही प्रकरणमा प्रहरीले सहकारीका अन्य पदाधिकारीहरूसँग पनि बयान लिइरहेको छ । सहकारीका अध्यक्ष जीबी राईका साथै कोषाध्यक्ष कुमार रम्तेललाई समेत अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ। रम्तेल यसअघि कास्कीको कारागारमा थुनामा थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार स्वर्णलक्ष्मी सहकारीबाट १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको खुलासा भएको छ ।
सहकारीमा जम्मा २७ हजार निक्षेपकर्ताले २ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ बचत गरेका थिए । अपचलनको आरोपमा ६४५ जना निक्षेपकर्ताले प्रहरीमा जाहेरी दर्ता गरेका छन् । यस प्रकरणमा सहकारीका पूर्वडीआईजी छविलाल जोशीसँग पनि बयान लिइसकिएको छ ।
