काठमाडौं, १८ मंसिर । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३ सय ३४ मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा।डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उम्मेदवार डा। सुरेन्द्र मानन्धर ४ हजार ३ सय ३७ मत प्राप्त गर्दै तेस्रो हुन पुग्नुभयो । सुरुदेखि दोस्रो स्थानमा रहनुभएका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो हुनुभएको हो ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतको समर्थन रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौथो हुनुभयो । उहाँले २ हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याउनुभएको थियो ।
