दाङ, २० फागुन। गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका नायक पल शाहलाई अनुसन्धानका लागि पुनः म्याद थप हुन सक्ने प्रहरीले जनाएको छ। तनहुँ प्रहरीकाअनुसार अनुसन्धान पुरा नभए पुनः म्याद थप गरेर अनुसन्धान पुरा गरिने छ। तनहुँ प्रहरीले पहिलो चरणमा ७ दिन सम्म हिरासतमा राखेर अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति पाएको छ। पहिलो चरणको ७ दिनको अवधि शनिबार पुरा हुँदैछ। सात दिनको अवधि पुरा हुने दिन शनिबार परेकाले प्रहरीले नायक पललाई आइतबार पुनः सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गर्ने छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी युवराज खड्काले अनुसन्धान पुरा नभए आइतबार पुनः थप अनुसन्धानका लागि अदालतबाट म्याद थप हुने जानकारी दिए। ‘अनुसन्धानमा अनुसन्धान अधिकृतहरु खटिनु भएको छ, उहाँहरुले अनुसन्धान गरिरहनु भएको छ,’ डिएसपी खड्काले तेस्रो आँखासँग भने ‘अनुसन्धान पुरा नभएको खण्डमा उहाँलाई थप अनुसन्धानका लागि फेरी म्याद थप हुन्छ।’
यसैगरि डिएसपी खड्काले नायक पलको पक्षमा जिल्ला प्रहरी कार्यालय अगाडी भएको प्रदर्शनले अनुसन्धानमा कुनै समस्या नपरेको बताए। नायक शाहका समर्थकहरुले गरेको नाराबाजी र प्रदर्शनका कारण प्रहरी अनुसन्धानमा समेत व्यवधान पुगेको समाचार सार्वजनिक भैरहेका छन्। ‘पल शाहका समर्थकहरुको प्रदर्शन र नाराबाजीले प्रहरी अनुसन्धानमा कुनै समस्या पारेको छैन,’ उनले भने ‘अहिले त्यस्तो भीड पनि छैन, नायिका पुजा शर्मा आएको दिन मात्रै बढी भिड थियो।’
यसैगरि प्रहरीले अहिले सम्म पीडित गायिकालाई आफ्नो सम्पर्कमा बोलाएको छैन। आवश्यक परेको अवस्थामा मात्रै बोलाईने भन्दै डिएसपी खड्काले भने ‘अहिले सम्म बोलाईएको छैन, आवश्यक परेको खण्डमा मात्रै बोलाउने हो।’
