जनकपुरधाम, मंसिर ८ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गर्नुभएको छ ।
जनकपुरधामस्थित पार्टी कार्यालय उदघाटनको क्रममा बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था ‘विचारा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गर्नुभयो ।
‘एमालेभन्दा हामी कमजोर छैनौ, अहिले सातमध्ये दुईवटा प्रदेशमा हाम्रो पार्टीका मुख्यमन्त्री छन् । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाई उठ्नै नसक्ने अवस्थाको बनाउन हाम्रै पार्टीको ठूलो भूमिका छ । राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशमा खिमलाल देवकोटालाई जिताएका छौं’, उहाँले भन्नुभयो, ‘नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन्, ओलि छटपटाएर अन्टसन्ट बोलिरहेका छन्, गालीगलौजमा उत्रेका छन् तर हामी आफ्नो काममा मात्रै केन्द्रित छौं ।’
एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्रो रहेको दाबी गर्दै उहाँले भन्नुभयो- ‘म आफैं मधेसमा जन्मेको हुँ, मधेसी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्दै छौ ।’
आफ्नो पार्टीप्रति युवाको आकर्षण बढ्दै गएको दाबी पनि उहाँले गर्नुभयो ।
सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘प्रदेश २ को नाम र राजधानीको विषयमा अहिले हाम्रो पार्टीमा छलफल भएको छैन । छलफलपछि यो विषयमा अधिकारिक धारणा सार्वजनिक हुन्छ ।’
पर्सादेखि सप्तरीसम्मको बीचमा जनकपुरधाम पर्ने भएकाले राजधानीका लागि जनकपुरधाम नै उपयुक्त हुने उहाँको भनाइ छ । न्युज कारखाना
