काठमाडौँ, २० मंसिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताउनु भएको छ ।
बिहीबार त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताउनु भएको हो ।
उहाँले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठुलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताउनु भएको छ ।
उहाँले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्न अनुकूलन क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अनुकूलन क्षमता वृद्धिको लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता रहेको उल्लेख गर्नुभएको हो । उहाँले भूगोल केन्द्रीय विभाग र अन्य विदेशी विश्वविद्यालय मिलेर जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका विषयमा गरेको अनुसन्धानले जलवायु अनुकलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्त्वहरूको पहिचान गर्दै सोहीअनुरूप अनुकूलनमा दिगो र प्रभावकारी उपायहरूको अवलम्बन गर्न सहयोग पुग्ने दाबी गर्नुभएको छ।
उहाँले विभिन्न देशहरू सम्मिलित भई गरिएको अध्ययनले किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौती सामना गर्न सहज हुने अपेक्षा रहेको बताउनुभयो ।
