स्थानीय तह निर्वाचन-२०७९
दलहरुले थाले ‘निर्वाचन लक्षित गाउँ अभियान’ 

दलहरुले थाले ‘निर्वाचन लक्षित गाउँ अभियान’ 


  • 15.9K
    SHARES
    • फाल्गुण २१, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 24.5K Views

    दलहरुले थाले ‘निर्वाचन लक्षित गाउँ अभियान’ 

    काठमाडाैं,२१ फागुन । नेपाल सरकारले स्थानीय तहाको निर्वाचन आगामी २०७९ बैशाख ३० गते गर्ने गरी तयारी थालेसँगै राजनीतिक दलहरुपनि चुनाव लक्षित कार्यक्रम लिएर गाउँ अभियानमा लागेका छन् । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियान तय गरेर सबै नेता कार्यकर्तालाई गाउ जान निर्देशन दिइसकेको छ ।

    images

    नेकपा एमाले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पनि विस्तारै गाउँ पस्ने योजना बानाइरहेका छन् । नेपाली कांग्रेस ओखलढुंगाले साताअघिदेखि स्थानीय तह स्तरीय भेला, अन्तक्रीया, छलफल कार्यक्रम सुरु गरेको छ । यो सँगै कांग्रेसले विधानमा भएको व्यवस्था अनुसार टोल समिति बनाउने कार्यलाई निरन्तरता दिइरहेको छ । जिल्लाका ७५ वटै वडाहरुमा कार्यक्रम गर्ने लक्षका साथ सुरु गरिएको पहिलो चरणको पालिका स्तरिय अभियान अन्र्तगत ४ वटा स्थानीय तहमा कार्यक्रम सम्पनन भएको जिल्ला सभापति तेजेन्द्र  खनालले जानकारी दिए ।

    जिल्ला समितिको निर्देशन अनुसार सबै पालिका कार्यसमितिलाई कार्यक्रम आयोजना गर्न लगाइएको हो । हाल सम्मा चिशंखुगढी गाउपालिका, सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ गाउपालिका, र मोलुङ गाउपालिका स्तरिय कार्यक्रम सम्पन्न भैसकेका छन् । सभापति खनालले भने, ‘चार पालिकामा कार्यक्रम सकियो, अब लिखु, खिजिदेम्बा, सुनकोशी र चम्पादेवीमा फागुन महिनाभित्र कार्यक्रम सक्छौं ।’ 

    गाउँ अभियान कार्यक्रमका बारेमा उनले भने, ‘पहिलो चरणमा स्थानीय तहमा पार्टीको अवस्था मूल्यांकन गर्ने, वडा तथा पालिकाका सम्भावित उमेद्वारहरुको जनमतको अवस्था बुझ्ने र निर्वाचनमा कसरी जाने भन्ने कुरामा अलि बढी केन्द्रीत हुनेछौं ।’ सरकारमा जस्तै स्थानीय तहमा पनि आवश्यक्ताका आधारमा गठबन्धन हुन सक्ने उनले संकेत गरे  । ‘केन्द्रले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने÷नगर्ने निर्णयको अधिकार जिल्लालाई दिनसक्ने भन्दै खनालले भने, ‘अहिले नै औपचारिक रूपमा केही निर्देशन आएको छैन्, स्थानीय स्तरको सांगठनीक अवस्था हेरेर केही ठाउँहरुमा गठबन्धन हुनसक्छ, तर हामी अहिले आफ्नै संगठनलाई बलियो बनाउने अभियानमा छौं ।’

    गाउँ अभियान कार्यक्रममा केन्द्रीय सदस्यद्वय प्रदीप कुमार सुनुवार र रामहरि खतिवडा, प्रदेश समिति सदस्य कुमार लुइटेल, सविता राई सँगै जिल्ला अधिवेशनमा सभापति, सचिव र महाधिवेशन प्रतिनिधिमा प्रतिष्पर्धामा भाग लिएका दुवै टिमका नेताहरु कार्यक्रममा सँगसँगै छन् । जिल्ला सभापतिका प्रत्यासी एवं महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहालले भने, ‘हामी सबै सँगै छौं, यसले कार्यकर्ताको मनोवल बढेको र आगामी चुनावमा सबै स्थानीय तह कांग्रेसले जित्ने संकेत देखिएको छ ।’  गाउँस्तरमा हुने सबै कार्यक्रममा आफ्नो सहभागीता रहेको उनले तेस्रो आँखालाई बताए ।   

    केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवार र रामहरी खतिवडाले लोकतन्त्रको स्थायीत्व, संविधानको रक्षा र जनताको पक्षमा विकास ल्याउनका लागी कांग्रेसको विकल्प कांग्रेसनै भएको भन्दै कार्यकर्ताहरुलाई हौसला दिएका छन् । आगामी सबै निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुने केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवारले दावी गरे । अघिल्लो निर्वाचनहरुमा देखिएका अन्तरघात र विद्रोहीहुने कार्यलाई नदोहोर्याउने गरी अघि बढ्ने र कांग्रेसले कुनैपनि हालतमा जनताको मन जितेर बहुमत ल्याउने केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य रामहरी खतिवडाले बताए । 

    नेपाली कांग्रेस ओखलढुंगाले लामो समयपछि २ जना केन्द्रीय सदस्य पाएको छ । त्यस्तै प्रदेश समितिमा जिल्लाका तीनजना नेताहरु छन् । केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवार, रामहरी खतिवडा, प्रदेश सदस्य कुमार लुइटेल र सविता राई यो अभियानमा सँगैछन् । कांग्रेसको किल्ला भनेर परिचित ओखलढुंगामा केही समयदेखि कम्युनिष्टले चुनाव जित्दै आएको छ । विशेषगरी टिकट वितरणमा देखिएको पक्षधरता र अन्तरघातका कारण स्थानीय तह देखि प्रदेश र संघीय चुनावमा समेत कांग्रेसले हार बेहोर्नु परेको छ । आगामी निर्वाचनमा पक्षधरतालाई परराखेर सबैलाई जोड्नसके ओखलढुंगा कांग्रेसको शाख पुरानै अवस्थामा फर्कने देखिन्छ । 

    एमाले पनि गाउँमै 

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्ना नेता कार्यकर्तालाई भुगोल केन्द्रीत गर्न थालेको छ । ओखलढुंगा एमालेले केही दिनदेखि पालिका स्तरीय विस्तारित बैठक सञ्चालन गरिरहेको छ । पार्टीका जनवर्गीय संगठन निर्माण तथा भुगोलको संगठनलाई तिब्रता दिन लागेको नेकपा एमालेका जिल्ला अध्यक्ष शंकर कट्वालले बताए । उनले भने, ‘जिल्ला कमिटीले पालिका कमिटीलाई टोल कमिटी निर्माण गर्न र स्थानीय तहमा सबै जनसंगठन चुस्त बनाउन जिम्मेवारी दिइएको छ,त्यही अनुसार सांगठनिक गतिविधिहरु भैरहेका छन् ।’

    यो अभियानलाई हामीले स्थानीय तहको चुनाव केन्द्रित बनाएका छौं,’उनले तेस्रो आँखासँग भने । स्थानीय तहको चुनावमा जस्तोसुकै चुनौतीलाई सामना गर्ने गरी तयारी रहन सबै तहका कमिटीलाई निर्देशन दिएको एमालेले जनाएको छ । चुनावमा जुनसुकै गठबन्धन आए पनि एक्लै भिड्न सक्नेगरी शक्ति संचय गरेको नेताहरुले बताएका छन् । केही समयदेखि एमालेका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरु संगठन सुदृढीकरण अभियानमा गाउमा भेटिने गरेको उनिहरुको भनाइ छ ।

    एमालेबाट जिल्ला स्तरका केही नेताहरुले नेकपा समाजवादी गठन गरेसँगै एमालेको संगठनमा क्षति पुगेकोे छ । त्यसको क्षतिपूर्तिका लागी संगठन निर्माणलाई प्राथमिक्ताका साथ अघि बढाउने एमालेको तयारी छ । तत्कालीन एमालेका पुराना नेता नेत्र भट्टराई, निर्मला श्रेष्ठ, मेखबहादुर खड्का,नरेन्द्र श्रेष्ठ, मावर सुनुवार लगायत नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेर आफ्नै संगठन निर्माण अभियानमा लागेका छन् । नेकपा एमालेलाई पार्टी फुटले आगामी निर्वाचनमा चुनौति थपिदिएको छ । 

    माओवादी र नेकपा एस पनि अभियानको तयारीमा  

    स्थानीय तहको चुनाव नजिकीदै जाँदा कांग्रेस एमाले जस्तै नेकपा माओवादी केन्द्र पनि गाउ अभियानको तयारीमा जुटेको छ  भने एककिृत समाजवादी पार्टी निरन्तर संगठन निर्माणमा छ ।  माओवादी केन्द्र र जनता समाजवादी पार्टी लागायत साना दलले गाउँ जाने कार्यक्रमको अन्तिम तयारी गरेका छन । माओवादी केन्द्र आगामी चैत्रको पहिलो सातादेखि चुनावी अभियानमा गाउ पस्ने तयारी गरिरहेको जिल्ला संयोजक निशान्त शर्माले बताए ।

    उनले भने, ‘चैत अन्तिमसम्ममा उम्मेदवार नै टुंगो लगाउने गरी आन्तरिक तयारी भइरहेको छ ।’ स्थानीय तहको निर्वाचनमा माओवादी र नेकपा एसको गठबन्धन हुन सक्ने सम्भावना बढी छ । माओवादीले गठबन्धन गरेर जानसक्ने अवस्थालाई खुलै राखेर अघि बढ्ने बताएको छ । नेपाली कांग्रेससँग केन्द्रीय सरकारमा गठबन्धन भएपनि जिल्ला तहमा सम्भावना कम देखेको माओवादी र नेकपा एस साना दलहरुसँग मिलेर जाने सम्भावना रहेको देखिन्छ ।

    ७५ वडाका संगठनलाई पूनर्गठन र चुस्त बनाउने, जनवर्गिय संगठनहरु निर्माण गर्ने अभियानमा चैत्र महिनादेखि लाग्ने तयारी गरेको नेकपा माओवादी ओखलढुंगाले जनाएको छ । ठूला दलसँग भने टुंगो नभएपनि साना दलबीचमा चुनावी तालमेलका विषयमा छलफल भइरहेको चिशंखुगढी गाउपालिका अध्यक्ष समेत रहेका नेता शर्माले बताए । जिल्लाको सबै वडामा वडा कमिटी गठन गर्न नभ्याएको एकीकृत समाजवादी पार्टीले स्थानीय तहमा कम्तीमा ५० प्रतिशत वडासहित स्थानीय तहमा सम्मानजनक उम्मेदवारी दिने तयारी गरेको छ ।

    अहिले प्रदेश कमिटीको बैठक चलिरहेको र यसपछि तुरुन्तै गाउँ अभियानको कार्यक्रम चलाउने एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्लले बताए । कांग्रेसले गठबन्धन गर्न नचाहेमा अन्य दलबिच गठबन्धन हुने वाग्लेको भनाइ छ । उनले भने, ‘हाल सरकारमा रहेको गठबन्धन जिल्लामा एक हुन सके एमालेलाई पत्तासाफ गर्ने रणनीति हो ।’ त्यसका लागि जनता समाजवादी, माओवादी केन्द्र र विप्लव समूहको नेकपासँग समेत छलफल भइरहेको वाग्लेले बताए । चैत १ देखि एकीकृत समाजवादीको एक महिने संगठन निर्माण तथा शुद्धीकरण अभियान सुरु हुने तयारी छ । 

    जिल्लामा आठ स्थानीय तहमध्ये यसअघि तीन वटामा एमाले, चारमा कांग्रेस र एउटामा माओवादी केन्द्र प्रमुख पदमा निर्वाचित भएको थियो । कांग्रेसको गढ मानिने ओखलढुंगामा यसअघि तत्कालीन वाम गठबन्धन विजयी भएका थिए । यस पटक कम्युनिस्ट कमजोर भएको मौका पारेर कांग्रेसले सबै तहमा आफ्नो जित सुनिश्चित गर्ने रणनीतिको साथ अघि बढेको नेताहरुले बताएका छन् । ओखलढुंगामा जनता समाजवादी पार्टीले समेत संगठनलाई पहिलाको भन्दा मजबुत बनाउदै लगेको नेताहरूले बताएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # राजनीतिक दल,

  • जीवन शर्मा
    लेखकबाट थप