दाङका महिला दुनाटपरी बेचेर स्वरोजगार बन्दै

दाङका महिला दुनाटपरी बेचेर स्वरोजगार बन्दै


  • 2.7K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.1K Views

    दाङका महिला दुनाटपरी बेचेर स्वरोजगार बन्दै

    दाङ, २८ मंसिर । दाङका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् ।

    images

    घोराही उपमहानगरपालिका – १२ डाँडागाउँका सात जनाले उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन् । सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइदिएपछि गत भदौदेखि व्यावासायिक रुपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहका अध्यक्ष पुष्पा चौधरीले बताउनु भयो ।

    सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताउनु भयो । उहाँले भदौयता दुई हजार दुनाटपरी बिक्री गरेर १० हजार आम्दानी गरेको बताउनु भयो । उहाँमात्र होइन उहाँको समूहका सबैले यन्त्र प्रयोग गरेर दुनाटपरी बनाउने गरेका छन् ।

    सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गरौँ भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताउनु भयो । महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सीपसहितको बीउपुँजी पनि उनीहरूलाई प्रदान गरिएको छ ।

    घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस


    तेस्रो आँखा