काठमाडौं १ पुस । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । सिंह २०४९ सालमा तत्कालीन काठमाडौं नगरपालिकाको मेयर निर्वाचित हुनु भएको थियो । उहाँको समेत पहलमा काठमाडौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो ।
सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे निधन भएको थियो । उहाँको निधन ठमेलको चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा भएको थियो । उहाँको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यपछि दिउँसो १२ बजेदेखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उहाँको आजै कंकेश्वरी मन्दिरनेर रहेको लख तीर्थमा अन्त्येष्टि गरिने छ ।
पीएल सिंह अविवाहित हुनुहुन्छ । यसैबीच पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकाले सोमबार शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो ।
