देउखुरी २ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि विद्यालयहरुको अनुगमन सुरु गर्नु भएको छ । पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा उहाँले शैक्षिक गुणस्तरमा सुधारका ल्याउने उदेश्यले अनुगमन सुरु गर्नु भएको हो । अध्यक्ष विष्टले मंगलबार राप्ती गाउँपालिका वडा नं. ५ मा रहेको सर्वोदय माध्यामिक विद्यालय सिसहनियाँको अनुगमन गर्नु भएको हो ।
उहाँले सोमबार वडा नं. ८ मा रहेको शंकर माध्यामिक विद्यालयको अनुगमन गर्नु भएको थियो । अनुगमनका क्रममा अध्यक्ष विष्टले विद्यालयको शैक्षिक अवस्था, भौतिक पुर्वाधार, आर्थिक पारदर्शिता, शिक्षण सिकाईको अवस्थाको बारेमा जानकारी लिनुका साथै शिक्षक र विद्यार्थीहरुसँग प्रत्यक्ष छलफल गर्नु भएको थियो । उहाँले विद्यालय प्रशासनलाई शैक्षिक सुधारका लागि ठोस कार्य योजना तयार गर्न निर्देशन दिँदै स्थानीय सरकारले कुनै पनि आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।
नियमित कार्यक्रम अन्तरगत अध्यक्ष बिष्टले गत वर्षदेखि नै सामुदायिक विद्यालयमा अनुगमन गर्दै आउनु भएको छ । गतवर्षको तुलनामा यसवर्षको एसईई परिक्षामा विद्यार्थीहरुको उतिर्णदर बढाउने लक्ष्यका साथ उहाँले विद्यालयको अनुगमन सुरु गर्नु भएको हो । राप्ती गाउँपालिकामा ३० वटा सामुदायिक विद्यालय छन् ।
