दाङ, २२ फागुन। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए ‘एक्लै हिँडे ओरालो यात्रा सुरु हुन्छ, एक्लै हिँड्ने कुचेष्टा कसैले नगरे हुन्छ।’ दाहालले उनीसंगै स्टेजमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली तर्फ ईंगत गर्दै थपेका थिए ‘एक्लै हिँड्न खोजे के हुन्छ भन्ने उदाहरण देखिसकेका छौँ।’
दाहालको कटाक्ष ओली प्रति मात्रै थिएन, कांग्रेसको महाधिवेशनमा सहभागी कांग्रेसीहरुका लागि चेतावनी पनि थियो। कांग्रेसभित्र उठेका ‘गठबन्धन’ विरोधी स्वरहरु सुनेका दाहालले कांग्रेस निर्वाचनमा एक्लै हिँड्न खोजे ‘नराम्रो’ हुने सन्देश दिन खोजिरहेका थिए ।
जसरी पनि आगामी निर्वाचनसम्म गठबन्धन बचाएरै जानुपर्छ भन्ने मानसिकतामा रहेको दाहाल नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र कांग्रेसमाथि नै निहित देखिन्छ। कांग्रेसको भर गुमे अबका हरेक निर्वाचनमा आफ्नो स्थित कमजोर बन्ने आँकलन माओवादीले गरिरहेको छ। फलतः चुनावको आन्तरिक तयारीमा माओवादी देखिएपनि निर्वाचन जीताउने एक मात्रै बिकल्प कांग्रेससँगको ‘गठजोड’ नै हो भन्नेमा माओवादी पुरापुर अपेक्षामा छ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा माओवादी तेस्रो स्थानमा रह्यो। प्रदेशका ४ उपमहानगरपालिका मध्य कुनैमा पनि नेतृत्व लिन नसकेको माओवादीले नगरपालिकामा पनि कमजोर नतिजा निकाल्यो। प्रदेशका कुल ३२ नगरपालिका मध्य माओवादीको नेतृत्व जम्मा ७ नगरपालिकामा मात्रै कायम रहन सक्यो। यसैगरि गाउँपालिकामा पनि माओवादीको उपस्थिती निकै कमजोर बन्यो। कुल ७४ गाउँपालिका रहेको यो प्रदेशमा माओवादीको उपस्थिती जम्मा १४ गाउँपालिकामा मात्रै भयो ।
अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएको माओवादीले गत निर्वाचनको परिणामको बिश्लेषणसंगै अहिले झन कमजोर बनेको परिस्थितीलाई आकलन गरेर आफूलाई आगामी निर्वाचनमा गाह्रो पर्ने विश्लेषण गरिसकेको छ। नेकपा माओवादी खारेजी पश्चात आफ्नो पार्टीका प्रदेशका केही हेभिवेट नेताहरु एमाले तिरै सेपिनुले पनि माओवादीलाई यो प्रदेशमा कमजोर बनाएकै छ। माओवादीका टोपबहादुर रायमाझी लगाएत केही प्रदेश स्तरका नेताहरु नेकपा विभाजन पश्चात एमाले तिर सेपिएका छन्।
भलै माओवादीले पार्टीभित्र आन्तरिक तयारी गरिरहेको जनाएको छ, तर निर्वाचनमा एक्लै लड्ने अन्तिम तयारीका लागि नभई आफ्नो पकड कहाँ कति छ ? भनेर जाँच्नका लागि मात्रै। फलतः अहिले आन्तरिक तयारी गरिरहेको र गठबन्धन कायम रहने अवस्था भए सोही अनुसार ‘करेक्सन’ गरिने माओवादी प्रदेश समितिले जनाएको छ। यसर्थ आफ्नो शक्ति पहिचान गरेर भोलि गठबन्धनमा उम्मेदारी दाबी गर्न हुने सहज हुने मूल्यांकनसहित आन्तरिक तयारीमा माओवादी लागेको हो।
‘हामीहरुले आगामी स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत आन्तरिक रुपमा छलफल गरिरहेका छौँ,’ माओवादीका प्रदेश संयोजक चक्रपाणी खनालले भने ‘तर गठबन्धन बन्ने अवस्था भयो भने हामीहरु त्यहीअनुसार थप कार्यक्रम लिएर अगाडि बढ्छौँ।’ यसर्थ माओवादी केन्द्रले गठबन्धनको आयू लम्ब्याउन गरिरहेको प्रयत्नलाई केन्द्र भन्दा तल्ला कमिटिहरुले पनि पर्खेरै बसेका छन्।
माअोवादी दाङका जिल्ला संयोजक सुबास पुनले पनि गठबन्धन कायम रहने वा नरहने भन्ने विषयलाई पर्खेर बसेको बताए। भलै अहिले चुनावी तयारी पाटीभित्र सामान्य तवरबाट भैरहेको उनको भनाइ छ। ‘गठबन्धन कायम रहने स्थिती आयो भने हामीहरुले त्यही अनुसार अन्य दलहरुसंग सामुहिक कार्यक्रम गर्ने भन्ने हुन्छ,’ पुनले भने ‘तथापी अहिले पनि हाम्रो पार्टीभित्र सामान्य तवरले चुनाव केन्द्रीत बैठक,छलफलहरु त गरिरहेकै छौँ।’
यसैगरि गठबन्धनमा रहेको अर्को दल नेकपा एकीकृत समाजवादीले पनि आगामी निर्वाचन जित्ने एकमात्रै आधार कांग्रेससंगको गठजोडलाई देखेको छ। एमालेबाट बिभाजन भई गठन भएको माधवकुमार नेपाल नेतृत्वको समाजवादीले पनि गठबन्धन आगामी निर्वाचन सम्म कायमै राखिनु पर्नेमा जोड दिईरहेको छ। अन्यथा एमलेबाट फूटेर बनेको ‘नयाँ दल’ समाजवादीले पनि आगामी निर्वाचनमा आफ्नो नतिजा सुखद देखिरहेको छैन।
फलतः यो पार्टीका नेताहरुले गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गर्दै आईरहेका छन्। ‘गठबन्धन कुनै पनि हालतमा टुट्दैन,’ समाजवादीका प्रदेश संयोजक मेटमणी चौधरीले भने ‘चुनाव सम्मै सहकार्य हुन्छ, यसमा दुईमतै छैन।’ फलतः यो पार्टीले गठबन्धन कायम रहने बलियो निर्णय कुरेर बसिरहेको छ। ‘अहिले चुनाव लक्षित ठोस कार्यक्रम कुनै पनि बनाइसकेका छैनौँ,’ उनले भने ‘गठबन्धनको ठोस निर्णय भैसकेपछि गठबन्धनका संयुक्त कार्यक्रमहरु बन्छन्, अनि त्यसै अनुसार चुनावी योजना बन्छन्।’ एमालेसंगको बिभाजनका क्रममा समाजवादी तर्फ प्रदेशका हेभिवेट नेताहरु आएनन्। यसले पनि प्रदेशमा आफ्नो प्रभाव समाजवादीले उल्लेख्य रुपमा राख्न नसक्ने आँकलन गरिएको छ। यसर्थ कांग्रेससंगको चुनावी सहकार्य कायम भए मात्रै आफ्नो आगामी निर्वाचनमा आफ्नो सुहाउँदो उपस्थिती कायम गर्न सकिने बुझाईमा समाजवादी छ।
त्यसो त, एमालेसँग बिमती राखेर अलग्गिएको समाजवादीले आगामी निर्वाचनमा पनि एमालेलाई ‘पाखा’ लगाउने ठूलो योजनाको खोजीमा छ। यसर्थ समाजवादीका नेता मेटमणीले प्रदेशमा एमाले र आफ्नो पार्टीको शक्ति तुलना गर्दै भन्दै आएका छन् ‘हाम्रो प्रदेशमा एमाले पत्तासाफ हुन्छ।’ तर एमालेसंगको यो ‘लडाई’ समाजवादी एक्लैको शक्तिले जित्न सकिने आधार देखिन्न। यसका लागि पनि एमालेलाई हराउनकै लागि पनि सिंगो गठबन्धन चुनाव सम्म कायमै रहनुपर्नेमा समाजवादीको जोडबल छ।
यता अर्को विभाजित दल जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि गठबन्धनको ठोस निर्णय कुरेरै बसिरहेका छन्। पार्टीको केन्द्रीय समितिले ‘गठबन्धन कायम हुने र नआत्तिन’ मातहतका समितिहरुलाई भनिसकेको छ। ‘गठबन्धन कायम हुन्छ, यो विषयमा छलफल भैरहेका छन् भनेर हामीलाई भनिएको छ,’ जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले भने ‘तर पनि हामीहरुले आन्तरिक तयारीलाई पनि जोड दिइरहेका छौँ।’ यो आन्तरिक तयारीलाई भने समाजवादीले भोली गठबन्धनसंग बार्गेनिङका लागि हुने सहजताका रुपमा लिएको छ। ‘हामीहरुले उम्मेदवारहरु तय गर्ने, कुन क्षेत्रमा हाम्रो उपस्थिती राम्रो हुन्छ भनेर पहिचान गर्न थालेका छौँ,’ यादवले भने ‘यो भनेको भोली गठबन्धनसंग पनि सिट माग्न सजिलो हुन्छ भनेर नै हो।’
अघिल्लो निर्वाचनमा जसपा सहभागी तत्कालीन संघीय समाजवादी फोरमले प्रदेशका ६ गाउँपालिकामा नेतृत्व हात पारेको थियो। उपेन्द्र यादव समुह र राजेन्द्र महतो समूहको एकीकरण पश्चात बनेको जसपापनि अहिले फूटेको छ। महतोहरुको समूह अलग्गीएर अहिले लोकतान्त्रीक समाजवादी नामक छुट्टै पार्टी बनेको छ। तर उपेन्द्र यादव नेतृत्वको जसपाले भने लोसपा अलग्गीएर जसपालाई कुनै घाटा नहुने दाबी गर्छ।
महतो समुहकै थुप्रै नेता तथा कार्यकर्ताहरु जसपामै अडिएका कारण अहिले गठबन्धन कायम नभएपनि अघिल्लो निर्वाचन भन्दा आफ्नो सीट बढी आउने दाबी जसपाको छ। ‘हामीहरु अहिलेको चुनावमा एक्ला एक्लै लडेपनि अघिल्लो चुनावमा भन्दा हाम्रो बढी सिट आउँछ,’ जसपाका प्रदेश अध्यक्ष यादव भन्छन् ‘किनकी राजेन्द्र महतो समूहका थुप्रै नेता कार्यकर्ताहरु अहिले हामीहरुसंगै हुनुहुन्छ।’
