काठमाडौं, ५ पुस । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था भएको भन्दै आचारसंहिता मिच्न नहुने बताउनु भएको छ । न्यायाधीश समाज नेपालले आयोजना गरेको ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रियामा प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘मिडिया र न्यायालय जनविश्वासमा मात्रै टिक्छ, विश्वसनीयतामा टिक्ने संस्थाहरू केवल काममै निर्भर हुन्छन् ।’
प्रधानन्यायाधीश राउतले न्यायपालिका र प्रेसलाई संविधानले उत्तिकै जिम्मेवारी र अधिकार दिएको बताउँदै न्यायपालिकाको आदेश र फैसलामा टीकाटिप्पणी गर्दा स्वच्छ रूपमा गर्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँले मिडिया र न्यायपालिकाको आचारसंहिता पनि मिल्ने भएकाले दुवैले आचारसंहिता नाघ्न नहुने बताउनु भएको छ ।
‘अहिलेको न्यायपालिका पारदर्शी छ, कसैले पारदर्शी छैन भन्यो भने त्यसमा मेरो गम्भीर आपत्ति छ, सबै प्रकृया कानूनसम्मत र पारदर्शी छ’, उहाँले भन्नुभयो,, ‘पारदर्शितामा यो अदालत अब्बल रूपमा चलेको छ, न्यायापालिकाले निष्पक्ष न्याय दिन्छ ।’ आफू न्यायालयको सुधारमा नियमित रूपमा क्रियाशील रहेको र सबैलाई त्यस कार्यमा साथ दिन आग्रहसमेत गर्नुभएको हो ।
कार्यक्रममा ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यपत्र सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाजका अध्यक्ष तिलप्रसाद श्रेष्ठले प्रस्तुत गर्दै अदालतप्रतिको निष्ठा, आस्था र विश्वास बढाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।
कार्यक्रममा सहभागी न्यायाधीशहरू तथा पत्रकारहरूले न्यायापालिकाप्रतिको जनआस्था वृद्धि गर्न न्यायालयले सहजरूपमा सूचना दिनुपर्ने धारणा राख्नु भएको थियो ।
