तुलसीपुर ५ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीमा गएराती ग्रासी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर १८ निवासी २२ वर्षीय प्रकाश चौधरी र उनका भाई २० वर्षीय प्रमोद चौधरी रहेका छन् ।
उनीहरुलाई गएराती पौने १२ बजेको समयमा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उक्त घटनामा संकलग्न एक जना अझै फरार रहेका छन् ।
गएराती १० बजेको समयमा पसलमा सामान किन्दै गरेको अवस्थामा तुलसीपुर ७ निवासी सुरेश रसाइली र सुरज पुन माथि ग्रासी प्रहार भएको थियो । रसाइली र पुनको नेपालगञ्जमा उपचार भई रहेको प्रहरीले बताएको छ ।
