हेटौँडा, ८ पुस । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पूर्वाधार विकासलाई आर्थिक उपार्जनसँग जोडेर अघि बढाउन जरुरी रहेको बताउनु भएको छ । प्रतिफल आउने गरी सरकारले पूर्वाधार विकासमा सरकारले गरेको लगानी गर्नुपर्ने बताउनु भएको हो।
सोमबार हेटौँडा–१५ स्थित चुरियामाई सुरुङको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले विकास निर्माणको कामलाई व्यवस्थित र उत्पादनमुखी बनाउन जरुरी रहेको बताउनुभयो । सञ्चालनको विधि नहुँदा केही आयोजनाहरू अलपत्र अवस्थामा रहेको र राखेको ठुलो लगानी प्रयोगविहीन बनेको उहाँको भनाई छ ।
‘प्रतिफल आउने गरी विकास निर्माणको काममा लगानी बढाउनुपर्छ । विकासको आयोजना सञ्चालन गर्ने चरणमा नै सो आयोजनाको सञ्चालनको विधि तयार गरेर अघि बढ्नुपर्छ । एकीकृत विकाससँगै सञ्चालनको मोडल तयार गरेर सरकारले लगानी गर्दा प्रतिफल आउँछ’ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री लामाका अनुसार सम्पदा संरक्षणसँगै विकास गर्नु अहिलेको आवश्यकता हो । इतिहासको संरक्षणसँगै विकासको आयोजनाहरू सञ्चालनको लागि प्रदेश सरकार प्रयत्नरत रहेको उहाँको भनाई छ । नागरिकहरूको सहज पहुँचमा राज्यको विकास पुग्न जरुरी रहेको मुख्यमन्त्री लामाले बताउनुभयो ।
नागरिक लक्षित गरी आयोजनाहरू निर्माण गरी आयआर्जनमा जोड्नु अहिलेको अपरिहार्यता रहेको मुख्यमन्त्री लामाले बताउनु भएको छ । उहाँले ऐतिहासिक सम्पदा संरक्षणसँगै नयाँ संरचनाको विकास गरी धार्मिक सांस्कृतिक तथा पर्यापर्यटनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक र पुरातात्त्विक संरचनाहरूलाई व्यवस्थित रूपमा संरक्षण तथा सम्बर्द्धन गरेर सञ्चालनमा ल्याउन जरुरी रहेको बताउनुभयो । ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोडेर विकास गरेर नागरिकहरूलाई आर्थिक गतिविधिमा जोड्नुपर्ने उहाँले बताउनु भएको हो ।
