काठमाडौं, ९ पुस/ वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर ८ बस्ने ५३ वर्षीय याद बहादुर बुर्जा मगर र बारा पचरौता नगरपालिका-८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय संजय साह बानिया रहेका छन् ।
पक्राउ मध्ये याद बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जनाबाट ५ लाख ७५ हजार रूपैयाँ र संजयले साइप्रस पठाइदिन्छु भन्दै १ जनाबाट ४ लाख ६० हजार रूपैयाँ लिएर सम्पर्कबिहीन भएका थिए ।
पीडितहरुको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले याद बहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र संजयलाई टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
