काठमाडौं १० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका सबै व्यक्तिलाई सरकारले छानबिन गर्ने बताउनु भएको छ ।
काठमाडौँमा तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले बुधबार आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सांसद सूर्य थापाको नेतृत्वमा बनेको प्रतिवेदनमा रहेका सहकारी ठगी आरोपित सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताउनुभएको हो ।
मन्त्री गुरुङले सहकारी ठगी आरोपमा अनुसन्धानको प्रक्रियामा रहेका रास्वपाका नेता रवि लामिछानेलाई छुटाउन गरिएको विरोध असंवैधानिक कार्य रहेको बताउनुभयो । अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने काम भइरहेको भन्दै यो लोकतान्त्रिक पद्धतिविपरीत कार्य भएको सुनाउनुभयो ।
कार्यक्रममा उहाँले रास्वपा पार्टीलाई मात्रै टार्गेट गर्यो सरकारले भन्नु गलत बुझाइ रहेकोमा प्रस्ट पार्नुभयो । यस्तो होहल्लाले सहकारी ठगीको छानबिन र अनुसन्धानलाई ओझेलमा पार्न गरिएको चलखेल रहेको सुनाउनुभयो ।
