विराटनगर, १२ पुस । औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भएको छ ।
सुनसरीको इटहरीमा उद्योग सङ्गठन मोरङले शुक्रवार आयोजना गरेको ‘व्यावसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली’ विषयक गोष्ठीमा उनले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताउनु भएको हो ।
मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै औद्योगिक कामदारले भोग्नुपरेका समस्याबारे गोष्ठीको निष्कर्षले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले लगानी सम्मेलन सफल बनाउन उद्योगी व्यवसायीको सल्लाह र सुझाव महत्वपूर्ण हुने भएकाले सो विषयमा पनि सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा राख्नुभयो ।
