हेटौंडा १५ पुस । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्ध महिलाको मृत्यु भएको छ । मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
रूम्बालाई आइतवार साँझ ५ बजेतिर घरनजिकैको खोल्सामा बाघले आक्रमण गरेको हो । यतिबेला बसन्तपुर गाउँ त्रसित बनेको छ । मृतक रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो । आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब पाँचसय मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
