काठमाडाैं, २५ फागुन ।
काठमाडाैं,२४ फागुन । पार्टीको सम्मेलनलाई एकाएक महाधिवेशनको नाम दिएर गरिएको नेकपा माओवादी केन्द्रको महाधिवेशनले पुरा केन्द्रीय कमिटी छान्न सकेन । आम प्रतिनिधिहरूको असन्तुष्टिकाबीच एक हप्ता लगाएर बनाइएको केन्द्रीय कमिटीलाई पूर्णता दिन निकै हम्मे पर्यो ।
प्रचण्डलाई सर्वसम्मत अध्यक्ष बनाएर उनैलाई पदाधिकारी छनोटको जिम्मा दिएका नेताहरू अहिले आपसी मतभेदमा छन् ।महाधिवेशन भएको साढे दुई महिना सम्म पनि केन्द्रीय कमिटीलाई पूर्णता दिन नसक्नुमा नेताहरूको आआफ्नै इन्ट्रेस्ट बाझिएको छ । यसमा बढी अध्यक्ष प्रचण्डनै भूमिका खेलेको नेताहरूले गुनासो गरेका छन् ।
पार्टीभित्र अकस्मात् एमसीसी सम्झौताको मुद्दाले आकार लिएपछि पदाधिकारी, पोलिटव्यूरो र सचिवालय गठनमा झनै असर परेको एक नेताले बताए । महाधिवेशन पछिको पहिलो बैठकले केन्द्रीय सदस्यहरू थप गरेपनि पदाधिकारी, पोलिटव्यूरो र सचिवालय बनाउने विषयलाई स्थानीय तहको निर्वाचन पछि धकेलेको छ ।
अध्यक्ष सहित २ सय ३२ जना केन्द्रीय कमिटी बनाएको माओवादीले केन्द्रले करिव साढे दुइ महिना पछि आइतबार बैठक बसेर केन्द्रीय सदस्य थप गरेपनि अझै पदाधिकारी छान्न सकेको छैन । आन्तरिक विवादका कारण पदाधिकारी लगायत नेतृत्व चयनमा मतदान प्रक्रिया अपनाउन नसकेको एक केन्द्रीय सदस्यले बताए ।
‘स्थानीय तहको चुनाव नजिकिँदैछ’, उनले भने, ‘यो समयमा पार्टी पदाधिकारी चयन गर्दा आन्तरिक मतविभाजन हुने र आगामी निर्वाचनमा असर पर्ने देखिएकाले पदाधिकारी चयनको काम चुनावपछि सारिएको हो ।’ नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने गरी गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ ।
अन्य विषयमा छलफल गर्न जेठ २० मा बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनको भनाइ छ । शुक्रबार देखि आइतबार सम्म बसेको बैठकमा प्रचण्डले एमसीसीबारे पछि छलफल गर्ने बताएपनि छलफल हुन सकेन ।
नेता नारायणकाजी श्रेष्ठ, देवगुरुङ लगायत नेताहरूको चर्को अवरोधकाबीच गरिएको बैठकले पदाधिकारी चयन गर्दा स्थानीय तहको निर्वाचनमा असर गर्ने देखेर उक्त कार्यलाई पछि सारिएको एक केन्द्रीय सदस्यले तेस्रो आँखालाई बताए । उनले भने, ‘पार्टीभित्र देखिएको अन्तरविरोधलाई साम्य बनाउदैछ स्थानीय तहको निर्वाचन पछि विस्तारै पदाधिकारी चयन हुने आन्तरिक तयारी भएको छ ।’
