तुलसीपुर, २१ पुस । तुलसीपुर बजारबाट शनिबार दिउँसो घेराहालेर प्रहरीले पक्राउ गरेका नौं जना जुवाडेको नाम सार्वजनिक गरेको छ । जुवाडे पक्राउ परेको खबर सार्वजनिक गरेकापनि शनिबार बेलुकासम्म प्रहरीले उनीहरुको परिचय सार्वजनिक गरेको थिएन । चौतर्फी दबाब पछि प्रहरीले आइतबार उनीहरुको नाम सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –५ का ४० बर्षीय ओमकार वली, ४२ बर्षीय लिलाबहादुर वली, ४४ बर्षीय गोरखबहादुर वली, ५६ बर्षीय मिनराज वली, तुलसीपुर – ५ का ३१ बर्षीय नबीन वली रहेका छन् । त्यसैगरी तुलसीपुर ५ कै ५५ बर्षीय लालबहादुर गुरुङ, ४४ बर्षीय पूर्णबहादुर डाँगी, चितवनको भरतपुर–२१ का ४३ बर्षीय पुष्पराज घिमिरे र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–८ का ४१ बर्षीय नरविर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका –५ (ङ) लाइनस्थित गोरख वलीको सुनचाँदी पसल रहेको घरमा ठूलो रकम हारजित हुने गरि जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई घर घेरा हालेर पक्राउ गरेको थियो । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्री नेतृत्वको साधा पोशाकको प्रहरीले गोरख वलीको सुनचाँदी पसलमा घेरा हालेर उनीहरुलाई पक्राउ गरेको थियो ।
जुवाको खालबाट प्रहरीले नगद दुई लाख ५२ हजार ६५ रुपैयाँसहित १०२ पत्ता तास र नखोलेको १ गड्डी नयाँ तासपनि बरामद गरेको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत मुद्दा चलाउने गरि आइतबार घोराहीमा म्याद थपका लागि लागिएको प्रहरीले जानकारी दिएको छ ।
