खोरेत रोग नियन्त्रणका लागि एकीकृत रणनीति आवश्यक

खोरेत रोग नियन्त्रणका लागि एकीकृत रणनीति आवश्यक


  • 3.1K
    SHARES
    • पौष २१, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.7K Views

    खोरेत रोग नियन्त्रणका लागि एकीकृत रणनीति आवश्यक

    फिदिम, पुस २१ । जिल्लालाई खोरेत रोग मुक्त गर्न एकीकृत रणनीति बनाउन सरोकारवाला एकमत भएका छन् । खोरेत रोग नियन्त्रण गर्न सके दुध र मासुको अन्तराष्ट्रिय बजार विस्तार हुनका साथै स्वस्थ उत्पादनले मानव स्वास्थ्य र दुधजन्य वस्तुको बिक्री वापत प्राप्त हुने मूल्यमा सुधार आउने भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पॉचथरले फिदिममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाको जोड थियो ।

    images

    ूपाँचथर जिल्ला दुध र मासुमा आत्मनिर्भर छ यति हुँदाहुँदै पनि खुल्ला सीमा पशु चौपायाको सहज आवागमन लगायत विभिन्न कारण खोरेत सहित विभिन्न किसिमका रोग र महामारी फैलिने खतरासँगै दुध र मासुजन्य उत्पादनको विक्री र विक्रीबाट प्राप्त हुने मूल्यमा प्रभाव परिरहेको छ,ू पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर गङ्गाराम यादवले कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो ।

    यहाँ उत्पादित घिउ, छुर्पी र चीज जस्ता दुधजन्य उत्पादन विश्व बजारमा पुर्‍याउन  गुणस्तर परीक्षण अनिवार्य गरिन्छ । डाक्टर यादवका अनुसार नेपाल विश्व स्वास्थ्य सङ्गठन पशु चौपायामा लाग्ने रोग र महामारीको खतराका सूचीमा रहेकाले यहॉको उत्पादन निर्यातमा समस्या भइरहेको छ । 

    पशु चौपायालाई रोगमुक्त गर्न सरकारले खोप लगाउनेसँगै विभिन्न किसिमका अभियान सञ्चालन गर्न लागेकाले किसान,जनप्रतिनिधि, तीनतहकै सरकारका निकाय र सरोकारवाला एकजुट भएर अघि बढ्न ऐक्यबद्वता जनाएका हुन् ।

    कार्यक्रममा कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र खड्काले रैथाने चरुवा डुलुवा पशुसँगै तराइ तिर बिक्री गर्र्न संखुवासभा र तेह्रथुम रुटबाट ल्याइने पशु चौपायाका कारण पनि रोग महामारी सर्ने खतरा रहेकाले त्यसतर्फ सजग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगूले सीमावर्ती क्षेत्र समूहसमूह भएर चर्ने चौंरी गोठमा महामारी फैलिए त्यसले विकराल रुप लिन सक्ने भन्दै त्यसतर्फ ध्यान जानुपर्ने सुझाव राख्नुभयो ।

    फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले पाँचथर जिल्लाका नागरिरको आम्दानीको स्रोत मध्ये एक पशुपालन पनि भएकाले पशु चौपायामा लाग्ने रोग र महामारी नियन्त्रणका लागि स्थानीय निकाय, भेटेरिनेरी अस्पता, सरोकारवाला र किसानले खोरेत नियन्त्रणका लागि एकिकृत कार्ययोजना बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

    जिल्ला समन्वय समिति पॉचथरका प्रमूख रामराज आङदेम्बेले जिल्लालाई खोरेत मुक्त बनाउन पशु स्वास्थ्यकर्मी,जनप्रतिनिधि र किसान सहितका सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा उपस्थित पशु स्वास्थ्यकर्मीहरुले हाल उपलब्ध पशु प्राविधिकको सङ्ख्या थोरै मात्रै रहेकाले एउटा वडामा कम्तीमा एकजना प्राविधिक नियुक्ती गर्नुपर्ने र क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नुपर्ने सुझाव राखे ।

    कार्यक्रममा सहभागी सबै सरोकारवाला खोरेत रोग नियन्णका लागि पँचथर जिल्लालाई ‘जोन’का रुपमा अगाडी बढाउन सरोकारवालाहरु एकमत भएका हुन् । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले आयोजना गरेको अन्तरक्रियामा डाक्टर रामनारायण साहले अध्यक्षता र पशु विकास अधिकृत निरजकुमार भट्टराईले सहजीकरण गर्नुभएको थियोे  ।


    तेस्रो आँखा