काठमाडौं, २५ फागुन । मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्णय व्यापक अध्ययन र छलफल पछि गरिएको निर्वाचन आयोगले जनाएको छ। मतपत्र हरियो बनाउने निर्णय मतदाता र मतगणकमैत्री बनाउने उद्देश्यले गरिएको निर्वाचन आयोगले बताएको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतपत्र संकेत गर्ने मसी, निर्वाचन चिन्ह, मतपत्रमा हुने रेखा र क्रमसंख्या पनि निलो भएको र मतदाताले गरेको मत स्पष्ट नभएकोले त्यसलाई सहज बनाउन अध्ययन र छलफल गरेर हरियो रङको मतपत्र प्रयोग गर्ने निणर्य आयोगले लिएको हो। यसो गर्दा मतदाता, मतगणकलाई थप सहज हुने उनको भनाई छ।
निर्वाचन आयोगले गत बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आगामी स्थानीय तहको निर्वाचनको मतमत्रमा छपाइ हुने चिन्ह, विवरण तथा सुरक्षण चिन्ह हरियो रङको बनाउने जनाएको थियो। आयोगले मतपत्र सङ्केत गर्ने मसी, निर्वाचन चिन्ह, मतपत्रमा हुने रेखा र क्रमसंख्या पनि नीलो भएका कारण मतदाताले गरेको मत सङ्केत मात्र नभएर, मतगणनामा सजिलो हुनेछ। प्रवक्ता पौडेलले तेस्रो आँखालाई भने,‘मतपत्रमा गरिएको मत सङ्केत स्पष्ट देखयोस् भन्ने मनसायले सेतो कागजमा हरियो रङको विवरण राख्ने निर्णय गरेको हो।’
आयोगको उक्त निर्णयप्रति पुर्व प्रधानमन्त्री तथा नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ती जनाएका थिए। हरियो रङको मतपत्र बनाउने निर्णयमा विरोध भएको जानकारी नभएको र आयोगले मतपत्रको रङ व्यापक अध्यन र छलफल गरेर उपयुक्त मानेर गरेको प्रवक्ता शर्माको भनाइ छ। एमाले अध्यक्ष ओलीले कांग्रेसको रुख चिन्हतर्फ इंगित गर्दै ‘सबै मतपत्र नै रुख जस्तै देखियोस् भनेर मतपत्र हरियो बनाउने निर्णय गरेको हो?’ भनेर एक सार्वजनीक कार्यक्रम ब्यग्य गरेका थिए।
उनको यो भनाइलाई आम सर्वसाधारणले समेत फिक्का टिप्पणी मानेका छन्। बिगतका निर्वाचनहरुमा पनि हरियो रङको मतपत्र प्रयोगमा आएको थियो। ‘२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समेत हरियो रङको मतपत्रको प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ।
प्रवक्ता पौडेलले भने ‘स्थानीय तहको निर्वाचनमा मतदाता संख्या पनि बढी हुने र चुनाब चिन्ह पनि धेरै हुने हुनाले सहज होस् भन्ने ढंगले आयोगले सो निर्णय गरेको हो।’ उनका अनुसार नेपालमा निर्वाचनको मतपत्रमा कालो, नीलो, हरियो र रातो रङको प्रयोगको अभ्यास हुँदै आएको छ। प्रत्यक निर्वाचनमा फरक-फरक रङको मतपत्रको प्रयोग हुँदै आएको उनले जानकारी दिए।
पदम भुजेल
