काठमाडाैं, २५ फागुन । राप्रपा नेपालको बुधबार बसेको पदाधिकारी बैठकले पार्टी पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन गरेको छ । बैठकले नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको राप्रपा नेपालका एक नेताले बताए । बैठकको निर्णय अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखको जिम्मेवारी अध्यक्ष कमल थापालाई दिइएको छ । यस्तै आर्थिक विभाग प्रमुखको जिम्मेवारी उद्धव पौडेलले पाएका छन् ।
त्यस्तै नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी डा. विष्णु भण्डारीले पाएका छन् । संगठन विभागको जिम्मेवारी राजाराम बर्तौलाले पाएका छन् भने प्रचार विभाग प्रमुख एवम् पार्टी प्रवक्ताको जिम्मेवारी सुरेश आचार्यले पाएका छन् । यस्तै सचिवालय प्रमुखको जिम्मेवारी महामन्त्री भास्कर भद्राले र प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखमा महामन्त्री सुशील कुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
यस्तै कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखमा महामन्त्री इन्द्र चित्रकारले र संगठन विभाग प्रमुखमा महामन्त्री राजाराम बर्तौलाले जिम्मेवारी पाएका छन् । यस्तै महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राईलाई जिम्मेवारी दिइएको छ भने सहकारी संस्था समन्वय विभाग प्रमुखमा केन्द्रीय सदस्य राजकुमार खड्काले जिम्मेवारी पाएका छन् ।
पदाधिकारी बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत्र महिनाभर घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको छ भने देशका ७ प्रदेश, ७७ जिल्ला र ७५३ वटै गाउँ तथा नगरपालिकाहरूमा तीन महिनाभित्र संगठन विस्तार र सुदृढीकरणका कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै कार्यसमिति गठन भैसकेका जिल्लाहरुमा कार्यसमिति गठन भएको २१ दिनभित्र अनिवार्य रुपमा जिल्लास्तरीय भेला आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।
