सल्यान, २५ पुस । सल्यानको थारमारे बडागाउदेखि रुकुमपश्चिमको चौरजहारी जोड्ने सडक खण्ड कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । थारमारेदेखि सुरु भएको सडक कालोपत्रेको काम अहिले बडागाउ पुगेको छ । अहिले थारमारेदेखि मौलाहालेसम्मको करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।
सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कर्ण बहादुर बिकका अनुसार सडक चिसापानीदेखि कालोपत्रे गर्दै बडागाउँसम्म ल्याउने योजना छ । अहिले उक्त योजना कार्यान्वयन भएको वडाध्यक्ष बिकले बताउनुभयो । उहाँकाअनुसार अझै साढे ९ किलोमिटर सडक कालोपत्रे हुँन बाँकी छ । साढे ९ किलोमिटर सडक कालोपत्रे गर्नका लागि टेन्डर स्वीकृत भएर काम पनि सुरु भइसकेको वडाध्यक्ष बिकले तेस्रो आँखालाई जानकारी दिनुभयो ।
कर्णाली प्रदेश भौतिक पुर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालयबाट प्राप्त ६ करोड ७१ लाख २९ हजार ९६२ रुपैयाँ बजेटमा थारमारे बडागाउँ चौरजहारी सडकखण्ड कालोपत्रे हुन लागेको हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आइसिआईपी) परियोजना अन्तरगत पाँच बर्षदेखि सडक स्तरोन्नति एवं सडक कालोपत्रे गर्ने काम भई रहेको छ ।
बर्षौपछि सडक कालोपत्रे हुँदा स्थानीय खुशी भएका छन् । सडक कालोपत्रे भएसँगै यात्रा गर्न सहज हुनुका साथै सडकको धुलो, धुवाबाट समेत मुक्ति मिल्ने स्थानीय निरुता थापाले तेस्रो आँखालाई बताउनु भयो । पहिले यात्रा गर्न निकै कठिन थियोे, अहिले सडक कालोपत्रे भएसँगै यात्रा गर्न सहज भएको छ, उहाँले भन्नुभयो-बर्षाैपछि सडक कालोपत्रे हुँदा सबैलाई यात्रा गर्न सहज भएको छ, हामी एकदमै खुशी छौं ।
थापाका अनुसार पहिले सडक गाउँसम्म नपुग्दा थारमारेबाट पैदल हिड्नु पर्ने बाध्यता थियो । ५/७ बर्षपछि सडक ग्राभेल भयो, अहिले त्यही सडक कालोपत्रे हुँदैछ, म लागायत सिंगो वडाबासी नै खुशी भएका छौं थापाले भन्नुभयो । बाटो कालोपत्रे भएसँगै आम पालिकाका नागरिकहरुलाई आवत जावत गर्न सहज भएको उहाँले बताउनु भयो । बर्खाको समयमा बारम्बार बाटो बिग्रिने भएकाले हामीलाई समस्या हुन्थ्यो, यातायातका साधनहरु पनि सहज रुपमा चल्न सक्दैन थिएँ, यो वर्षदेखि यी समस्या समाधान हुन्छ भन्ने हामीलाई लागेको छ, उहाँले भन्नुभयो ।
यसअघी उक्त बाटो कालोपत्रे नहुँदा पटकपटक पहिरो जाने समस्या थियोे । जसले गर्दा बर्खाको समयमा आम नागरिकहरुलाई यात्रा गर्न समस्या थियो । सडक बिग्रिएका कारण निश्चित समयमा कुनै पनि ठाउँमा पुग्न समय लाग्ने गरेको थापाले बताउनु भयो । अहिले भने सडक कालोपत्रे हुँदा सहज रुपमा यातायात पाइने भएकाले कुनै समस्या नभएको थापाको भनाई छ । उक्त सडक कालोपत्रे गर्ने काम तीन चरणमा छुट्याइएको थियो । जस मध्ये दुई चरणको सम्पन्न भइसकेको छ भने अहिले अन्तिम चरणको सडक काम भइरहेको छ ।
रुपा थापा
