काठमाडौं, २६ फागुन। प्रेमिका राना मगरले नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष पदमा दावी गरेकी छन्। इलामबाट कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् पार्टीको महासमिति सदस्यसमेत रहेकी रानाले नेविसंघको केन्द्रीय अध्यक्षमा आफ्नो दाबी रहेको बताएकी हुन्।
सात कक्षादेखि नै राजनीतिमा लागेकी राना महेन्द्रदय उच्च माविको नेविसंघ सभापति, संघको क्षेत्रिय सदस्य, उप–सभापति, जिल्ला सदस्य, पार्टीको इलाम क्षेत्र नं. दुईको कोषाध्यक्ष तथा नेविसंघको केन्द्रिय सदस्य पदमा समेत रहेर काम गरिसकेकी छन्। आफू नेविसंघको नेतृत्व सम्हाल्न योग्य र सक्षम रहेकोले अध्यक्षमा आफ्नो दाबी रहेको रानाको भनाइ छ।
‘संगठनलाई तल्लो तहदेखि केन्द्रीयस्तरसम्म चलायमान बनाई पार्टीको बलियो संगठनको रुपमा स्थापित गर्न र शताब्दी सुहाउदो विद्यार्थी आन्दोलनलाई नेतृत्व दिन आवश्यक छ’, उनले भनिन् ‘त्यसको लागि नेतृत्व दिन र परम्परागत शैक्षिक प्रणालीलाई व्यवस्थापन गर्न म सक्षम र योग्य भएको कारणले मैले नेविसंघको अध्यक्ष पदमा दाबी गरेको हुँ।’
नेविसंघलाई समय सुहाउँदो बनाउन, नेविसंघको अवस्था परिवर्तन गर्न, कोमामा रहेको नेविसंघलाई बिँउझाउनको लागि आफ्नो अध्यक्षमा दाबी रहेको राना मगरको भनाइ छ। यदि आफू नेविसंघको नेतृत्वमा आएको खण्डमा शैक्षिक संस्थाहरुमा खस्किएको संगठन नेविसंघलाई मजबुत बनाउने र कांग्रेसलाई संस्थागत रुपमा बलियो बनाउन भूमिका खेल्ने र सोही अनुसारको आफ्नो योजना रहेको उनको दाबी छ।
महिलाहरु पनि पुरुष सरह सक्षम रहने भन्दै उनले अबको नेतृत्व महिलाले पाउनु पर्ने बताइन्। महिलाले महिला भएका कारण नै नेतृत्व पाउनुपर्ने भन्दा पनि सक्षम भएका कारण अबको नेतृत्व महिलाले पाउनुपर्ने उनको बुझाई छ। समग्रमा सबैमा महिला नेतृत्व आउनुपर्छ भन्ने मान्यता रहेको र सो महिला नेतृत्वको लागि विगतको योगदान, पार्टीको लागि गरेको संघर्ष र अनुभवको आधारमा आफू योग्य भएकाले अध्यक्ष पदमा मेराे दाबी छ। शिर्ष नेताहरुको प्रतिक्रियाबाट पनि आफू नेतृत्वमा आउने कुरामा विश्वस्त रहेको उनी बताउँछिन्।
केही दिन अगाडि मात्र नेविसंघको अध्यक्षमा महिला नेतृत्व आउनुपर्छ भनेर उनी सहितको महिला नेतृत्वको टोलीले कांग्रेस महामन्त्री, सह महामन्त्री तथा अन्य नेताहरुलाई ज्ञापनपत्र बुझाएका थिए। यो पटक नेविसंघको नेतृत्व महिलालाई बनाउनुपर्ने नेविसंघका महिला नेत्रीहरुको भनाइ छ। तर नेविसंघको अध्यक्षको पदको लागि दाबी गर्ने महिलाहरुको संख्या मात्र पनि धेरै देखिएको छ।
पदम भुजेल
