काठडमाडौं, २६ फागुन। ओखलढुंगामा आठ वटा स्थानीय तह छन्। आठवटै स्थानीय तहको प्रमुखमा पुरुष निर्वाचित भएका थिए। सबै स्थानीय तहको उप–प्रमुख वा उपाध्यक्षमा महिला छन्। उनीहरुले स्थानीय सरकारको चार वर्षे अनुभव सम्हालिसकेका छन्। स्थानीय सरकारका न्यायाशिधका रुपमा काम गरेका उपप्रमुहरुको नेतृत्व क्षमता विकास भएसँगै उनीहरु अपग्रेड हुन चाहन्छन्।
२०७४ पछि नेतृत्व तहमा आएका स्थानीय सरकारका धेरै उप–प्रमुखहरुले प्रमुखको दाबी गरिरहेका छन्। पहिलो स्थानीय तहको निर्वाचनबाट महिलाहरुलेसमेत चुनाव जितेर प्रमुख वा अध्यक्षको भूमिकामा काम गरिसकेका छन्। आगामी निर्वाचनमा अघिल्लो निर्वाचनमा भन्दा निकै बढीले अध्यक्ष अथवा प्रमुखमा दाबी गर्ने संकेत गरिसकेका छन्। एक नगरपालिकासहित आठ स्थानीय तह रहेको ओखलढुंगाका अधिकांश उप–प्रमुहरु प्रमुखको दावी गर्ने बताउँछन्।
यहाँको सिद्धिचरण नगरपालिका उप–प्रमुख इच्छाकुमारी गुरुङल, मानेभञ्ज्याङ गाउपालिका उपाध्यक्ष सविता राई, लिखु गाउपालिका उपाध्यक्ष शान्ता ढुंगेल, सुनकोशी गाउँपालिका उप–प्रमुख दुर्गा तामाङ र खिजिदेम्बा गाउँपालिका उपाध्यक्ष सुशीला तामाङले अध्यक्षकाे आकंक्षा राखेका छन्। उनीहरु आ–आफ्नो पार्टीमा अध्यक्षको टिकटका लागी दवाव दिने बताउँछन्।
नगरपालिका उप–प्रमुख इच्छा कुमारी गुरुङले उप–प्रमुख भएर काम गर्दै गर्दा प्रमुख चलाउन सक्छु भन्ने आँट जागेको बताइन्। आगामी निर्वाचनमा आफ्नो प्रमुखमा दाबी रहने बताइन्। ‘आफ्नो चाहना र आकांक्षा अब एक तह माथि बढ्ने नै छ, प्रमुख चलाउन सक्छु भन्ने लागेको छ, तर पार्टीले टिकट दिन्छ दिदैंन र सहमती के हुन्छ भन्ने हो’, उनले भनिन् ‘पार्टी भित्र मैले दाबी प्रस्तुत गर्ने छु, यदी पार्टीले टिकट दिएको खण्डमा म प्रमुखमा लड्न तयार छु।’
त्यस्तै लिखु गाउँपालिका उपाध्यक्ष शान्ता ढुंगेल अध्यक्षको दावी रहेपनि टिकक लिने विषयमा छलफल नभएको बताइन्। पार्टीेले टिकट दिए आफू अध्यक्षमा उठ्ने तयार रहेको ढुंगेलको भनाइ छ। ‘अध्यक्षमा उठ्ने चाहाना छ’, उनले भनिन् ‘यदि जिम्मेवारी पाइयो भने पछि सर्दिन, तर पार्टीबाट जे निर्णय हुन्छ त्यो त स्वीकार्नुपर्छ।’
खिजिदेम्बा गाउँपालिकाकी उपाध्यक्ष सुशीला तामाङले पार्टीले अहिले उम्मेदवारीका विषयमा केही नबोल्न निर्देशन भएको बताइन्। ‘हामीलाई कुनै पदमा उठ्ने नउठ्ने बारे केही निर्णय नगर्न पार्टीले आग्रह गरेको छ।’, उनले भनीन्‘पार्टीले जुन जिम्मेवारी दिन्छ म त्यो त पुरा गर्नै पर्छ, अध्यक्ष भएर जनताको सेवा गर्ने कुरामा सक्षम छु।’ तर उपाध्यक्षमा फेरि त्यही पदमा उठ्ने योजना नबनाएको उनले बताइन्।
सुनकोशी गाउँपालिकाकी दुर्गा तामाङले आगामी निर्वाचनमा अध्यक्ष उपाध्यक्ष के मा उम्मेदवारी दिने सरसल्लाह भइनसकेको बताएकी छन्। ‘पार्टीमा अहिले कुन पदमा उम्मेदवारी दिने भन्ने छलफल भएको छैन।’, उनले भनिन् ‘यदि पार्टीले अध्यक्षमा उठ्न टिकट दिएमा म अध्यक्षमा नै उठ्ने छु।’ मानेभञ्ज्याङ गाउँपालिकाकी उपाध्यक्ष सविता राईले भने आगामी निर्वाचनमा अध्यक्षपदको उम्मेदवारीमा दावी गरिसकेकी छन्। उनले आफू अध्यक्ष भएर जनसेवामा खटिन सक्षम भएकाले आगामी निर्वाचनमा अध्यक्षको दावेदारी स्वभाविक रहने उनले दावी गरेकी छन्।
चम्पादेवी गाउँपालिकाकी उपाध्यक्ष निर्मला रैका मगरले आफ्नो प्रमुखमा दावी नरहने बताएकी छन्। ‘अध्यक्षमा चैं मेरो दावी रहने छैन।’, उनले भनिन् ‘यदि पार्टीले टिकट दिएको खण्डमा उपाध्यक्ष पदमा नै एक पटक दोहोरिने सोचमा छु।’ आफू पूर्ण रुपमा निर्वाचन केन्द्रित भएर नलागेको उनले बताइन्। मोलुङ गाउपालिका उपाध्यक्ष हेमकुमारी तामाङलाई पनि अध्यक्ष बनेर सेवा गर्ने इच्छा रहेको बताउँछिन। उनले लामो समय महिलाको क्षत्रमा लामो अनुभव बटुलिसकेको र उपाध्यक्ष भएर एक कार्यकाल जनताको सेवा गरिसकेको हुँदा अध्यक्षको चाहाना राखेको बताइन्। चिशंखुगढी गाउपालिका उपाध्यक्ष सुस्मीका राई पनि आफूले पार्टीमा अध्यषको दावी प्रस्तुत गर्ने बताउँछिन।
पदम भुजेल
