काठमाडौं १० माघ । योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले १६औं राष्ट्रिय योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले संकेतात्मक र विषयगत १६औं योजनाले देशको समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्रलाई पहिचान गरेको भन्दै तर योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको बताएका हुन् ।
उनले भने,‘१६औं योजना ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आधारशिलामा तयार भएको हो । यस योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आर्थिक वृद्धिलाई प्रवद्र्धन र जनताको जीवनस्तर सुधार गर्नका लागि मार्गदर्शन प्रदान गर्दछ। राष्ट्रिय योजना आयोगले १६औं विकास योजनाको कार्यान्वयन कार्ययोजना तयार गरिरहेकोछ। १६औं योजना संकेतात्मक र विषयगत योजना हो, जसले देशको समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्रलाई पहिचान गरेको छ। तर, यस योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक छ।’
त्यस्तै उनले ट्रेड अफ्सको पहिचान नहुँदा बाञ्छीत उपलब्धीमा कमि भएको धारणा राखे । अब प्रत्येक कार्यक्रमहरु र पोलिसिहरुमा ट्रेड अफ्स र सिनर्जीको अनिवार्य पहिचान गर्नुपर्ने उनको भनाई छ ।
उनले भने,‘योबीचमा समन्वयको व्यापक अभाव देखियो । कतिपय कुराहरुमा ट्रेड अफ्स हुन्छ । विरोधको आवास हुन्छ । कुनै मन्त्रालयले एउटा कुरा राखेको हुन्छ । अर्को मन्त्रालयले अर्को राखेको हुन्छ । त्यो ट्रेड अफ्स पनि पहिचान नहुँदा बाञ्छीत उपलब्धीमा कमि भएको देखियो । अब चाँही हाम्रो प्रत्येक कार्यक्रमहरुमा प्रत्येक पोलिसिहरुमा ट्रेड अफ्स र सिनर्जीचाँही पहिचान गर्नुपर्छ ।’
