अमेरिकी सेनको एउटा बिमानले ‘डिपोर्ट’ गरिएका भारतीय नागरिकलाई भारतमा उतारिदिएको छ। बिहीबार दिउँसोतिर अमेरिकै सैन्य विमानले अमृतसार(पञ्जाव)को गुरु दरविदास अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई पुर्याएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कार्यकाल सम्हालेलगत्तै अवैधरुपमा बसेका आप्रवासीहरूलाई फर्काउने एउटा घोषणामा हस्ताक्षर गरेका थिए। र कैयौ देशहरूलाई आफ्ना नागरिक आफ्नै तरिकाले फर्काउन पनि समय दिएका थिए। सम्बन्धित देशहरूले आफ्ना नागरिकलाई आफैले नलगे सैनिक विमानमार्फत फर्काइने उनले बताएका थिए। ट्रम्पको यो घोषणापछि भारतीय नागरिक डिपोर्ट गरिएको यो पहिलोपटक हो।
यसअघि नै ह्वाइटहाउस प्रशासनले विश्वभरबाट त्यहाँ पुगेका लगभग १४ लाख ४५ हजारभन्दा मानिसलाई सम्बन्धित देश फिर्ता गर्नेगरी एउटा सूची जारी गरेको थियो। त्यो सूची पहिलो चरणमा फर्काइने आप्रवासीहरूको थियो र त्यसमा करिब १७ हजार ९४० जना भारतीय नागरिक परेका थिए। त्यही सूचीमा नेपालका करिब १ हजार ३६५ जना सामेल थिए।
सैन्य विमान अवतरण हुनुअघि पञ्जावको प्रहरीले अमेरिकाले फिर्ता गरेको नागरिकको सूची जाँच गरिएको र त्यसमा कुनै पनि गम्भिर अपराधमा मुछिएका व्यक्तिहरू नभएको जनाएको थियो।
उनीहरूमध्ये केहीलाई प्रहरीकै गाडीमा सम्बन्धित गाउँ पुर्याउने र बाँकीलाई बिमानमार्फत उनीहरूको घर पठाउने तयारी थियो। पत्रकारहरूलाई भने विमानस्थलभित्र पस्न दिइएको थिएन।
पञ्जाव सरकारका गैरआवासीय नागरिक मामिलामन्त्री कुलदीप सिंह धालीवालले भारतीय नागरिकलाई यसरी अपराधिजस्तो गरेर डिपोर्ड गरिनु निकै गम्भिर विषय भएको यसबारे भारत सरकार पनि बोल्नुपर्ने बताएका थिए। यसरी पहिलोपटक सैन्य विमानबाट अमेरिकाले २०५ जनालाई फिर्ता पठाइदिएको हो।
पद सम्हालेलगत्तै ट्रम्पले मेक्सिको सिमानामा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए। राष्ट्रिय संकटकाल घोषणा गर्नुको अर्थ सम्बन्धित क्षेत्रको सबै जिम्मेवारी राष्ट्रपति सिधै आफैले लिनु हो। त्यसमा उनले सैनिकको कडा परिचालनदेखि अरु पनि निर्णयहरूमा एक्लै कार्यान्वयनको अधिकार राख्दछन्।
यी भारतीयजस्तै अमेरिकाले लाखौं आप्रवासीलाई डिपोर्ट गर्ने भनेको छ। तर विज्ञहरूले अमेरिकाका लागि यो निकै महंगो पर्ने चेतावनी दिएका छन्। अहिले मेक्सिको सिमानामा सैनिक कार्यालयलाई थप विस्तार गरिएको छ भने डिपोर्ट हुनेहरूलाई केही समय त्यहीँ बस्ने व्यवस्था मिलाइएको छ। सबै प्रक्रिया पुर्याएपछि त्यहीँबाट सम्बन्धित देशमा पठाइन्छ।
यसअघि पनि ग्वाटेमाला, पेरु तथा होन्डुरसका सयौं आप्रवासीलाई सैनिक विमानमार्फत नै पठाइएको छ।
गत सातामात्रै अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोसँग फोन वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा रहेका आप्रवासी भारतीय नागरिकप्रति चिन्ता व्यक्त गरेका थिए।
त्यसपछि एउटा पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए ‘हामीलाई यो आशा छ कि बिना दस्तावेज अमेरिकामा रहेका आफ्ना नागरिकका लागि भारतले कदम उठाओस्।’
अमेरिका यात्रामा गएका भारतीय विदेशमन्त्री एस जयशंकरले पनि त्यसपछि नै अवैध आप्रवासनका बारेमा भारतीय धारणा सार्वजनिक गरिसकेका थिए।
‘भारत अवैध आप्रवासनलाई कहिल्यै समर्थन गर्न सक्दैन। अवैधरुपमा अमेरिका बसिरहेका भारतीय नागरिक भेटिएमा उनीहरूलाई आफ्नो देश फर्काउन हामी तयार छौं’ उनले भनेका थिए।
