कांग्रेस महाधिवेशनले उब्जाएको प्रतिशोध             
आगामी चुनावमा खतरा

आगामी चुनावमा खतरा


  • 6.1K
    SHARES
    • मंसिर ८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    आगामी चुनावमा खतरा

    तेस्रो आँखाडेस्क

    images

    काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्युठानको जिल्ला नेतृत्वका लागि मंगलबार मतदान भयो । जिल्ला नेतृत्वका लागि खसेको कुल १ हजार ६९ मतमध्ये गणना हुन ६४ मतमात्रै बाँकी थियो ।

    त्यतिबेलासम्म संस्थापन इतरका सभापति पदका उम्मेदवार विष्णुकुमार गिरीको जीत निश्चितप्रायः थियो । उहाँ अर्का प्रत्यासी संस्थापन पक्षका शिवराज रिजालभन्दा ६६ मतले अगाडि हुनुहुन्थ्यो ।

    हार निश्चित भइसकेपछि संस्थापन पक्षका एक कार्यकर्ताले मतपत्र च्यात्ने प्रयास गरे । उनलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले नियन्त्रणमा लिएपछि बिबादले उग्र रुप लियो । कांग्रेसका दुई पक्षका कार्यकर्ताबीच हानाहान भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँससहित हवाइ फायर गर्यो ।

    'त्यस घटनामा प्रहरी र पार्टीका दुवै पक्षका कार्यकर्ता गरी १० जना घाइते हुनुभयो,’ कांग्रेस प्युठानका नवनिर्वाचित एक पदाधिकारीले भने-'यीमध्ये दुई जना प्रहरी र चार जना कार्यकर्ता गम्भीर घाइते हुनुभयो र उहाँहरुलाई उपचारका लागि जिल्लाबाहिर पठाइयो ।’

    यससँगै मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा समेत भौतिक क्षति पुगेको ती पदाधिकारीले जानकारी दिए । बिबादका बीच सम्पन्न प्युठान जिल्लाको अधिवेशनबाट संस्थापन इतरका गिरी सभापतिमा निर्वाचित हुनुभयो ।

    कांग्रेस महाधिवेशन अन्तर्गत रुपन्देहीमा भएका क्षेत्रीय अधिवेशनमा आक्रमणका दुई घटना भए । रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनका क्रममा संस्थापन इतर समूहका दीर्घबहादुर केसीमाथि आक्रमण भयो । अनुहारमा गम्भिर चोट लागेका उहाँको अहिले काठमाडौँमा उपचार भइरहेको छ ।

    क्षेत्रीय नेतृत्व तथा महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा संस्थापन इतर समूहले अग्रता लिइरहेको थियो । झण्डै डेढ सय मत गणना हुन बाँकी छँदा संस्थापन इतर समूहको बाहुल्य देखिने भएपछि महाधिवेशन प्रतिनिधिका उम्मेदवार केसीमाथि अर्को समूहका कार्यकर्ताले आक्रमण गरेको संस्थापन इतर समूहको दाबी छ । केसी पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसक्नुभएको छ ।

    रुपन्देहीकै क्षेत्र नम्बर ३ अन्तर्गत भएको प्रदेश क्षेत्रीय अधिवेशनका क्रममा भएको आक्रमणमा पनि एक उम्मेदवार गम्भीर घाइते भए । आक्रमणमा परी प्रदेश क्षेत्र (ख) का सचिव पदका उम्मेदवार शैलेश पन्तसहित ५ जना घाइते भए ।

    गत ४ गते दाङमा भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनका क्रममा पराजित एक उम्मेदवारले कांग्रेस जिल्ला सचिव शंकर डाँगीलाई आक्रमणको प्रयास गरे । आफूलाई हराएको भन्दै डाँगीप्रति क्रुद्ध बनेका ती उम्मेदवार अर्को दिन सार्वजनिकस्थलमै  जाइलागे ।

    'अरु मान्छे नभैदिएको भए घटनाले ठूलो रुप लिने थियो’,क्षेत्र नम्बर ३ का क्षेत्रीय सदस्यका एक उम्मेदवारले भने-'आक्रमणको प्रयास भए पनि अरु मान्छेले रोकेर ठूलो घटना हुन पाएन ।’

    कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तल्लो तहका अधिवेशनका क्रममा भएका आक्रमणका यी ठूला घटनाले कांग्रेसभित्र प्रतिशोध बढाइदिएको छ । मूलतः संस्थापन पक्ष र संस्थापत इतर पक्षबीचको आन्तरिक प्रतिष्पर्धाले 'दुश्मनी’ कै रुप लिएपछि कांग्रेसलाई दीर्घकालीन असर पुग्ने 'लख’ पार्टी केन्द्रीय नेताहरुले काट्न थालेका छन् ।

    मूलतः महाधिवेशनलगत्तै आउने स्थानीय तह तथा संसदीय चुनावमा यी घटनाले कांग्रेसलाई ठूलो नोक्सानी पुग्ने कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको बुझाइ छ । 'अधिवेशनका क्रममा भएका यस्ता घटनाले नेपाली कांग्रेस जस्तो स्वच्छ पार्टीको छबी धमिलियो, यस्ता घटना कांग्रेसको इतिहासमा कहिल्यै भएका थिएनन्’ तेस्रो आँखासँग पौडेलले भन्नुभयो-'यसले पार्टीलाई दीर्घकालसम्म असर पुग्ने खतरा बढेर गएको छ ।’

    बरिष्ठ नेता पौडेलका अनुसार, आक्रमणका यी घटनाले पार्टी कार्यकर्तामा 'बदला’ को भावना विकास गरेको र पार्टीभित्र कटुता सिर्जना भएको छ । उहाँले भन्नुभयो- 'सभापति जीले पनि अधिवेशन शान्तिपूर्ण तरिकाले होओस् भन्ने चाहनुभएको छैन ।’

    पार्टी सभापति देउवाजसरी पनि आफू पुनः सभापति बन्नैपर्छ भन्ने मानसिकतामा मात्रै रहेको भन्दै पौडेलले यो सोचले पार्टीका कार्यकर्ताभित्र ‘इख’ बढेको बताउनुभयो । पार्टी र राज्य सत्ताको नेतृत्व गरेको मान्छेले अधिवेशनहरु शान्तिपूर्ण बनाउनुपर्छ भन्ने उहाँले सोच्नु पर्ने धारणा उहाँको छ ।

    पौडेलले अधिवेशनका क्रममा भएका आक्रमणसम्मका घटनाले कांग्रेसलाई आगामी चुनाावमा असर पर्ने विश्लेषण गरिरहँदा संस्थापन पक्षले भने यस्ता घटनाले सिंगो पार्टीलाई असर नपर्ने दाबी गरेको छ ।

    कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतका विचारमा केही जिल्लामा भएका आक्रमणका ॅएकाध’ घटनाले सिंगो कांग्रेसनै कमजोर बन्न पुग्यो भनेर विश्लेषण गर्न हुँदैन । उहाँले भन्नुभयो- 'बरु यी घटनाबाट उत्पन्न परिस्थतिलाई सहज व्यवस्थापन गरेर कसरी पार्टीभित्रको एकतालाई सुदुढ बनाउने भन्नेबारेमा सोचिनुपर्छ ।’

    पार्टीका तल्लो तहका अधिवेशनका क्रममा भएका आक्रमणका घटनासँगै डडेल्धुरा कांग्रेसमा देखिएको बिमतिले पनि केन्द्रीय नेतृत्वलाई थप विभाजित बनाइदिएको छ । सक्रिय सदस्यतामा केन्द्रले अन्याय गरेको भन्दै डडेल्धुरा कांग्रेसको ठूलो हिस्सा अहिले पार्टी केन्द्रीय कार्यालयमा अनसनमा छ ।

    सभापति देउवाकै गृहजिल्लामा देखिएको यो बिबाद पनि कांग्रेसका लागि आगामी चुनावमा घातक बन्नसक्ने देखाइ बरिष्ठ नेता पौडेलको छ । 'पार्टीको सभापतिकै गृहजिल्लामा भएको यो बिबादले भोलिको आम चुनावमा कस्तो असर पार्ला ?’, पौडेल भन्नुहुन्छ- 'आफ्नै गृहजिल्लामा भएको यो बिबादप्रति सभापति जी गम्भीर हुनुभएन, यसले भोलि निम्तन सक्ने खतराप्रति उहाँ सचेत बन्नु पर्दैन ?’

    डडेल्धुरा कांग्रेसका नेता-कार्यकर्ताको अनसनलाई पौडेल समूहले समर्थन गरिरहेको छ भने देउवा समूहले यो आन्दोलनलाई गलत भनिरहेको छ ।

    सहमहामन्त्री डा. महतले त सभापति देउवालाई बदनाम गर्नका साथै पुनः सभापति बन्नबाट रोक्नका लागि उहाँकै गृहजिल्लामा अनावश्यक बिबादको नाटक रचिएको, त्यहाँ कुनै बिबाद नै नरहेको बताउनुभयो ।

    डा. महतका अनुसार, जिल्लाबाटै सिफारिस भएका सक्रिय सदस्यहरुको सूचीलाई केन्द्रीय समितिले अनुमोदन गरेर जिल्लामा पठाएको हो । 'जिल्लाबाटै आएका सक्रिय सदस्यहरुको सूचीलाई केन्द्रीय समितिले अनुमोदन गरेर पठाइसकेपछि किन बिबाद गर्नु पर्यो ?’, उहाँले भन्नुभयो- 'यहाँनेर बिबाद गर्नुपर्ने, आन्दोलन नै गर्नुपर्ने त कुनै पनि कारण छैन ।’

    त्यसो त, जिल्लाका तल्लो तहका अधिवेशनहरुमा देखिएको पार्टीको गुटगत प्रतिष्पर्धाले पनि जिल्ला तहमा प्रतिशोध बढाइदिएको छ । एकले अर्कालाई निषेधै गरेर अगाडि बढ्ने योजना मुताबिक अधिवेशनमा होमिएका संस्थापन र संस्थापन इतर समूहबीच आगामी चुनावमा पनि यसको प्रभाव पर्ने खतरा देखिएको छ ।

     


    तेस्रो आँखा