काठमाडाैं, ३० फागुन। हरेक व्यक्तिको जीवनमा एक क्षण आउँछ। जब सबै इच्छा, आकांक्षा, सपनाहरुलाई ध्वस्त पारिदिन्छ। महाभारतमा कृष्णले पनि भनेका छन्, ‘एक तर्फ सुख र अर्को तर्फ धर्म रहेको क्षणलाई नै धर्मसंकट भनिन्छ। त्यस बेला कसले के रोज्ने भन्ने नितान्त व्यक्तिगत निर्णयमा भर पर्ने विषय हो।’
कृष्णले यो भनेको अवस्थामा अर्जुनलाई हेर्न सकिन्छ। धर्म बचाउन आफ्नै पुर्खा र कुलसँग लड्नु पर्ने छ, अथवा धर्म नष्ठ गरेर कुल र पितामा भिष्म माथि चलाउने बाण रोक्नु छ। अर्जुनका अगाडि पितामा भिष्म मात्र छैनन्, गुरु द्वणाचार्य पनि छन्। त्यस अवस्थालाई कृष्णले धर्मसंकटको नाम दिएका छन्।
यही अवस्थालाई सापटी लिने हो भने सविता उप्रेतीको जीवनमा पनि यस्तो अवस्था न आएको भने होइन्। परिवार र उमेरले विवाह गर्न निर्देशन दिइरहेको थियो। कलिला शरीरका अंगहरुले सुख सयलको वातावरण खोजिरहेका थिए। अरू दिदीबहिनी जस्तै अघिपछि परिवारका सदस्यहरु लिएर जन्मघर र कर्मघर गर्न मन नभएको पनि होइन्। २२ वर्षको उमेरमै अधिकृतस्तरको जागिरमा रमाएकी सवितालाई रणमैदानमा जान कसले अभिप्रेरित गर्यो। सायद, अदृष्य कृष्णले सविताको कानमा भने ‘तिमी धर्म गर’।
त्यसपछि उनको आखाँले साङ्गोले बाँधेको बालक देखे, फोहोरमा भएको कागजका अक्षर पढिरहेको बालकदेखे मनले धर्म गर्न उत्प्रेरित गर्यो। अनि सुरु भयो ‘विशेष स्कूल तथा पुर्नस्थापना केन्द्रको ।’
समाज सेवाको भावनाले ओतप्रोत भएकी सवितालाई अटिजम नयाँ लाग्याे। नेपाली समाजमा प्रचारमा नआएको अटिजमका बारेमा उनलाई सोधखोज गर्न मन लाग्यो। सामाजिक सञ्जाल र इन्टरनेटका माध्यामबाट उनले अटिजमका बारेमा पत्ता लगाइन्। यस्ताे अपांगता भएका व्यक्तिहरुमा फरक क्षमता हुने उनले बुझिन्। यतिमात्र होइन् सविताले यो समस्या भएकालाई पुनस्थापना गर्न पनि सकिन्छ भन्नेसमेत बुझिन् र त्यसकोपछि लागिन्।
धर्मसंकटमा रहेकी सविताले परिवारसँग आफ्नो विवाह गर्दा लाग्ने खर्चको हिसाव मागिन्। परिवारले हिसाप दिएपछि त्यो पैसा पनि मागिन्। धर्म रोज्ने निर्णय गरिन्। परिवारसँग नै विद्रोह गर्नु पर्ने स्थिति बन्यो। उनले विवाह गर्नको लागि कुनै दिन परिवारसँग कुनै किसिमको सहयोग नमाग्ने कठोर निर्णय गरिन्।
सविताको कठोर निर्णयले अहिले ५० जना बालबालिकाको आमा बनायो। करीव तीन सय बालबालिकालाई विषेश स्कूल तथा पुनस्थापना केन्द्रले सेवा प्रदान गरिसकेकाे छ । केन्द्रले हाल ५० जना बालबालिकालाई विषेश खालको रेखदेख गर्नुका साथै शिक्षा, थेरापी तथा सिपमूलक तालिम तथा पुनस्थापनालगायत सेवाहरू प्रदान गर्दै आएकाे छ। अहिले १७ जना शिक्षक, थेरापिस्ट तथा कर्मचारीहरू बालबालिकाहरूकाे सेवामा खटिरहेका छन् ।
‘सेवानै धर्म हो, भन्ने भाव राखेर समाज सेवामा आफ्नो जीवन सर्मपित गर्ने थोरै व्यक्तिको सूचिमा पर्ने सविता नियतिले नै समाजसेवामा लाग्न बाध्य बनाएको बताउँछिन्। अहिले ५० जना अटिजम भएका बालबालिकाको आमा पनि नियतिले नै बनाएको उनको भनाइ छ। अविवाहित नै भए पनि ती बालबालिकाको तोते बोलीले आमा भनेर बोलाउदा पूर्ण रुपले आमा भएको महसुस गर्छिन् उनी ।
जागिर गर्ने क्रममा सविताले गाउँ गाउँमा पुग्दा अविभावकहरुले आफ्नै सन्तानलाई साङलाले बाँधेर राखेको देखिन् र सडक छेउमा रहेको फोहरको डङ्गुरमा माथि फालिएको पुस्तकमा अक्षर चिन्ने कोशिस गरिरहेको अवोध बालक देखिन्। त्यो दृश्यले उनको मन विचलित मात्र भएने उनको जीवनमा फरक मोड ल्यायो। तिनै बालबालिका प्रति आफूलाई समर्पित गर्ने निधो गरायो।
उनी भन्छिन्, ‘त्यतिवेला अटिजम धेरैलाई थाहा थिएन। म पनि अनभिज्ञ नै थिएँ। तर, हार मानिन् र आफुले भेटेको बालकमा देखिएको फरक किसिमको क्षमताको बारेमा थाहा पाउन कोसिस गरेँ। त्यो एक प्रकारको अपाङता रहेछ। जसलाई अटिजम भनिदो रहेछ।’
फेसबुकमा प्रेमका कुरा गर्ने समयमा उनले अटिजमका बारेमा बुझ्न थालिन्। इन्टरनेटले उनलाई अझ सजिलो पनि बनायो। जीवनमा सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्ने र त्यसबाट के प्राप्ति गर्ने भन्ने विषयमा उनी राम्रो जानकार थिइन्। सायद त्यसै कारणले होला विकृतिमात्र फैलाउछ भन्ने सामाजिक सञ्जालले सविता जस्तो समाजसेवी बन्ने तागत पनि पैदा ग¥यो। त्यही सामाजिक सञ्जालको सहयोगले उनले भारतमा अटिजमबारे तालिम लिने अवसर प्राप्त गरिन्।
विवाह खर्चका लागि परिवारले जोडेको ५ लाख पैसा ल्याएर काठमाडौं पुगिन्। महासागरको यात्रा त्यति सजिलो थिएन। संस्था दर्ताको प्रक्रिया सुरु गरिन्। सविताले सोचे जस्तै गरेर संस्था दर्ता भएन्। सानो कदकी सविताको ठूलो सपनालाई धेरैले हल्का रुपमा लिए। उनले ती दिनहरु सम्झदैँ भनिन्, ‘प्रसाशनमा संस्था दर्ता गर्न जाँदा विहे गरेर आफ्नै केटाकेटी खेलाउने उमेरमा के अर्काको छोराछोरीको पीर लिएर बसेको भन्दै हल्का रुपमा लिनु भयो।’
त्यो बेलामा परिवार दुःखी भए पनि अहिले राम्रो गरेको प्रतिक्रिया सविताको कानमा पर्छन्। भारतबाट तालिम लिएर नेपाल आएपछि उनलाई अझै सजिलो भएको थियो। तर, चुनौतिको चाङ उस्तै थियो। बालबालिका खोज्नु पर्नेदेखि संस्था दर्ता गर्नेसम्म उनले चुनौतिका पहाडहरु पार गरिन।
संस्था दर्ताको प्रक्रियाको चुनौतिको पहाडलाई छिचोल्न नपाउँदै उनको अगाडि अर्को पहाड खडा थियो। संस्था दर्ता गर्नु भन्दा ठूलो पहाड अगाडि देख्दा सविताको मनमा कस्ता खालका भावनाहरु आए होलान् ? बालबालिका खोज्न उनी घर घर गइन्। तर उनलाई कसैले पत्याएनन् अरुले नै जन्म दिएका छोराछोरीलाई कसरी स्याहार गर्ने ? उनको अगाडि अर्को प्रश्न चिन्ह ठिङ्ङ उभियो। उनलाई सबैले उपेक्षा गर्दै फर्काई दिन्थे।
सामाजिक सञ्जाललाई सहयोग जुटाउने माध्यम बनाइन्। सामाजिक सञ्जालबाट खबर पाएर कसैले गरेको सहयोगबाट उनीसँग आएका बालबालिकाहरुलाई निःशुल्क पढाउने गर्छिन् सविता। अभिभावकको सहयोग, साथीभाई तथा च्यारीटिबाट आएको सहयोगले संस्था चलेको उनी बताउछिन्। अटिजम भएका बालबालिकालाई आत्म निर्भर बनाउनको लागि उनीहरुले गर्न सक्ने सिपुमुलक तालिमसमेत दिने गरेको उनको भनाइ छ।
शिक्षा संकायबाट स्नात्तकोत्तर गरेकि सविताले सानैदेखि अनेकौं दुःखका पहाडहरु छिचोलेकि छन्। पीडाका धेरै घुम्तिहरु पार गरेकी छन्। रात गएपछि दिन आउँछ, भनेझै अहिले उनको जीवन फेरीएको छ। समाजसेवी भनेर समाजले चिन्न थालेको छ। कोरोना महामारीले अरुलाई जस्तै सवितालाई पनि मर्का पार्यो तर, दुःखसँग लडेको मन अत्तालिएन्। पीडाका जञ्जीर टेकेका खुट्टाहरु थाकेनन्। सहयोग गर्ने हातहरु सधै अघि सरिरहेका छन्। अपेक्षा राखौं कलियुगकी कुन्ती बनुन्।
