काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको सामाजिक विकासमा गैरसरकारी संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ ।
नेपाली कांग्रेसको नागरिक समाज तथा गैरसरकारी संस्था सम्बन्धी नीति विषयक गोष्ठीमा बोल्दै उहाँले जनचेतना, प्रेस स्वतन्त्रता, मानव अधिकार र सुशासन समावेशी लगायतका विषयमा गैरसरकारी संघसंस्थाहरुले प्रभावकारी कामहरु गर्दै आएको बताउनु भएको हो।
उहाँले भन्नुभयो, ‘नेपालको सामाजिक विकासमा गैरसरकारी संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । गैरसरकारी संघसंस्थाहरुले खेलेको भूमिका प्रशंसनिय छ । जनचेतना, प्रेस स्वतन्त्रता मानव अधिकार सुशासन समावेशी लगायतका विषयमा गैरसरकारी संघसंस्थाहरुले पनि प्रभावकारी कामहरु गर्दै आएका मैले अनुभव गरेको छु ।’
साथै उहाँले सबै संस्थाहरुभित्र पनि शुसासन, परदर्शिता, आर्थिक लोकतन्त्र मजबुत हुनुपर्ने बताउनुभयो । हाम्रा हिमालहरु नाङ्गिन थालेकोले यसको बारेमा पनि गैरसरकारी संघसंस्थाहरुले सामुदायिक सचेतनादेखी लिएर व्यक्तिगत पहलकदमी गर्न जरुरी रहेको उहाँले बताउनु भएको छ ।
