लुम्बिनीबाट ओलीले हानेको प्रतिरक्षा ‘तोप’

लुम्बिनीबाट ओलीले हानेको प्रतिरक्षा ‘तोप’


  • 2.7K
    SHARES
    • फाल्गुण ५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.1K Views

    लुम्बिनीबाट ओलीले हानेको प्रतिरक्षा ‘तोप’

    लुम्बिनी प्रदेशसभामा हिउँदे अधिवेशनको अन्तिम बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। 

    images

    उनको पार्टी नेकपा एमाले दाङले आयोजना गरेको एउटा जनसभामा दाङ आएका बेला उनले प्रदेशसभालाई पनि सम्बोधन गरेका हुन्। सरकार ‘ढल्छ’ भनेर प्रतिपक्ष दलहरूले ‘हल्ला’ चलाईरहेका बेला कडा प्रतिरक्षामा उत्रिरहेका बेला प्रधानमन्त्रीले यहाँका प्रदेश सांसदहरूलाई पनि त्यसबारे आश्वस्त पारे। सरकार ढल्दै ढल्दैन भनेर ओली आफू जति ‘कन्फिडेन्ट’ देखिन्छन् उनले सत्ता साझेदार सांसदहरूलाई पनि त्यत्तिकै आश्वस्त पार्न खोजेका छन्। यद्यपि अन्तिम क्षणसम्म पनि ‘ढुक्क’ रहने ओलीको राजनीतिक स्वभाव नै हो र उनले जहाँ पनि त्यसलाई देखाइहाल्छन्। 

    लुम्बिनी प्रदेशसभामा आउनुअघि पनि प्रतिनिधिसभामा पनि सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका थिए। त्यो बेला पनि सरकार ढल्ने, ढाल्ने र दलहरू फुट्ने फुटाउनेबारे चलाइएका ‘हल्ला’हरूलाई उनले चिर्ने प्रयास गरेका थिए। उनले पटक पटक सरकार ढल्दैन र कसैले ढाल्नै सक्दैन भनेर विश्वस्त हुन भनिरहेका छन्। अनि आफूले कसैको दल फुटाउनेगरी अध्यादेश ल्याउने वा कानुन संशोधन गर्ने भन्ने कुरा हल्लामात्रै भएको प्रष्टिकरण दिँदै आएका छन्। यसलाई उनले ‘खुद्रे’ काम भन्दै यस्ता कुरामा सरकारलाई अल्लझिने फुर्सदसमेत नभएको बताउँदै आएका छन्। 

    आइतबार लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले सरकार ढल्ने वा कसैले ढाल्नेबारे सोच्दै नसोच्न पनि चेतावनी दिए। एउटा अप्ठ्यारो परिस्थितिमा नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको प्रसङ्ग निकाल्दै उनले एक्लै बहुमत ल्याएर सरकार बनाउने हैसियत राख्ने दलहरू मिलेर बनेको सरकार कसैले चाँहदैमा नढल्नै बताए। 

    ‘देश अप्ठ्यारोमा पर्ने खतरामा छ। अर्थतन्त्र कमजोर हुँदै गएको छ। अहिले अलिकति सम्हाल्ने प्रयासमा छु। गत वर्ष २४ प्रतिशत कम राजश्व उठेको थियो अहिले अलि सुधार भएको छ’ उनले भने ‘तर धेरै अप्ठ्यारो परिस्थितिमा नभइ नेपाली काँग्रेस र नेकपा एमाले धेरै ठुला एक्लै बहुमत लिएर सरकार चलाउँछु भन्ने पार्टीहरू मिलेर सरकार बनाउनुपर्ने अवस्था आउने थिएन होला। तर देश अप्ठ्यारो पर्दै जाँदा हामीले मिलेर सरकार बनाउनुपरेको हो। यस्तो बलियो सरकार कसरी ढल्छ।’ 

    उनले आउँदा १७ महिना कसैले चाहेर यो सरकार नढल्ने जिकीर गरे। नेपाली काँग्रेससँगको सहमतिअनुसार आफ्नो पालो सकिएपछि आफैले सरकार छोड्ने र नेपाली काँग्रेसका शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने पनि उनले प्रस्ट पारे। 

    ‘यो सरकार ढलिहाल्छ एउटा हल्ला चलाइएको छ। यस्तो हल्ला नचलाएको भए पनि हुन्थ्यो। अब १७ महिना मैले प्रधानमन्त्री चलाउँछु। १७ महिनापछि नेपाली काँग्रेसका सभापति शेरबहाहदुर देउवालाई प्रधानमन्त्रीत्व छोड्छु। केपी ओलीलाई हराउनका लागि कुनै बल लगाउनु पर्दैन। आफै छोड्छ बेला पुगेपछि। यो कुरा त डिक्लिएर छ नि’ उनले भने ‘१७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन ल। केही गरे पनि प्रधानमन्त्री ढल्दैन। अर्थात् प्रधानमन्त्री ढल्दैन। सरकार त के ढल्नु। यत्रो बहुमत छ। त्यसपछि त म आफै छोडिहाल्छु।’

    उनले नेपाली काँग्रेस र एमालेबीचको गठबन्धनबीच फाटो ल्याउन विपक्षीहरूले अनेक प्रपञ्च गर्न थालेको भन्दै यो गठबन्धन पनि कसैले चाहेर नटुट्ने बताए। दुई पार्टीसँग स्पष्ट बहुमत रहेको भन्दै उनले दुई दलीय गठबन्धन बारे कुनै भ्रममा नबस्न पनि सांसदहरूलाई आग्रह गरे।   

    ‘काँग्रेस र एमालेबीच कुनै आशंका छैन। कोही कतै जाला कसैसँग मिल्ला भन्ने अवस्था छैन। ढुक्क छ। बलियो सरकार छ’ उनले भने ‘तपाईंहरू पनि ढुक्क भएर प्रदेश सरकारका कामहरू अघि बढाउनुस्। कुनै भ्रम पालेर नबस्नुस्। सरकारले गर्नुपर्ने काम गर्नुस्। आफूले थालेका कामहरू ढुक्कसँग सक्नुस्।’ 

    देशमा विधिको शासन स्थापनाका लागि अहिले सरकारले संविधान संशोधन र परिमार्जनका कुराहरू उठाउँदा पनि त्यसलाई नकारात्मक विश्लेषण गरिएको ओलीको चित्त दुखाई छ। उनले यही संविधान र यही परिवर्तनका लागि आफूहरूले जीवनभरि संघर्ष गर्दै आएको भन्दै आफूले ल्याएका उपलब्धिहरू मास्ने काम आफूले कहिल्यै नगर्ने पनि स्पस्ट पारे। 

    ‘हामीले संशोधन गर्ने भनेका छौं। संशोधन गर्ने भनेको बिगार्ने भनेको होइन। कुनै वादविवादमा जान चाहन्नँ। संविधान बनाउन लागेका हामी हौं। बहुदलीय व्यवस्था ल्याउन लागेका हामी हौं’ ओलीले भने ‘त्यसैले हामीले संविधान मास्ने वा तलमाथि पार्ने भन्ने होइन। हामीले बनाएको संविधान हो। त्यसलाई समयसापेक्ष बनाउँदै जाने हो। कानुनहरू परिमार्जन हुँदै जान्छन्। कति पुराना कानुनहरू छन्। तिलाई परिवर्तन गर्नुपर्नेछ। त्यसैले कुनै पनि भ्रममा नपरेर आआफ्नो काममा लागौं।’ 

    देश बन्दै बन्दैन भनेर चलाइएका नैराश्य र नकारात्मक भाष्यहरूप्रति पनि प्रधानमन्त्री ओलीले आपत्ति प्रकट गरे। सबै राजनीतिक दलहरू देश बनाउन लाग्नुपर्ने बेलामा अनावश्यक वादविवादमा लागेर नैराश्यतामात्रै फैलाएको उनको भनाइ छ। उनले यही भाष्यको पछि लागेर युवाहरू पनि विदेश पलायन हुन थालेको बताए। तर ओलीले सकभर विदेश नजान र आफ्नै देशमा केही गरेर बस्न पनि अपिल गरे। 

    ‘अर्काको देश बनाइदिएर, अर्काको देश सिङ्गारिदिएर भोलि कति देशमा हातमा हतकडी लगाएर फर्काएको नौवत हामीलाई पनि आउनसक्छ। चालिस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मिहिनेतले सम्पन्न भई सकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ। कुन ठाउँमा के  उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ। देश आफैले बनाउने हो। आफ्नै मेहनतले बनाउने हो। कोही आएर देश बनाइदिँदैन।’ 


    तेस्रो आँखा
    लेखकबाट थप