देउखुरी। लुम्बिनी सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सोही दिन रातिदेखि लागु हुनेगरी हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो।
यसअघि सोमबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभालाई विशेष सम्बोधन गरेका थिए। मन्त्रिपरिषदको सिफारिसअनुसार प्रदेशप्रमुख कृष्णबहादुर घर्ती मगरले मंगलबार राति १२ देखि प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य भएको सूचना सरकारलाई पठाइसकेका छन्।
गत पुस १६ गते देखि सुरु भएको हिउँदे अधिवेशनपछि प्रदेशसभाका ११ वटा बैठक बसेका छन्। यी बैठकबाट दुई विधेयकहरू पारित भएका छन्। प्रदेशसभाको सचिवालयका अनुसार लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित भएका हुन्।
त्योसँगै प्रदेशप्रमुख घर्ती मगरले रायसहित फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि हुबहु पारित भएका छन्।
