काठमाडौं। झट्ट हेर्दा र सुन्दा दुई देशमात्रै लडिरहेको देखिए पनि सारा संसारलाई नै कहिँ न कहिँ, कतै न कतै पिरोलिरहेको एउटा युद्ध हो रुस-युक्रेन युद्ध। सन् २०२२ काव फेब्रअरी १४को बिहान पाँच बजे रुसका शासक भ्लादिमिर पुटिनले युक्रेनबिरुद्ध युद्ध घोषणा गर्दा सायदै सोचेका थिए यो युद्धको मूल्य यति धेरै महंगो पर्नेछ। अनि यति धेरै लामो हुनेछ। ती वर्ष बितिसक्दा पनि युद्ध अन्त्यको कुनै छाटकाँट देखिएको छैन। बरु दुबै देश उत्तिकै आक्रामक भइरहेका छन्।
यो युद्धले नछोएको सायदै विश्वको कुनै कुना होला। यी दुई देशले जति मानवीय तथा आर्थिक मूल्य यो युद्धमा चुकाएका छन् त्यो भन्दा धेरै नेपालजस्ता गरिब राष्ट्रहरू पनि युद्धको शिकार बनेका छन्। नेपालले पनि यो युद्धमा धेरै नागरिकको ज्यानको मूल्य चुकाउनुपरेको छ। मध्य युरोपका यी देशहरूको लडाईंका कारण सारा विश्वभरि आपूर्ति चक्र यसरी बिथोलियो कि भर्खर कोरोना महामारीले थलिएर तंग्रिन थालेको विश्व फेरि एकाएक थला परेजस्तै भयो। जसरी नेपालजस्ता गरिब देशहरूले त्यो युद्धलाई आफ्ना आर्थिक मन्दीको कारक माने त्यो भन्दला ठूलो ‘ईगो’ शक्ति राष्ट्रहरूको पनि बन्यो।
सारा विश्वलाई अहिले यो लागिरहेको छ कि यो युद्ध कहिले अन्त्य हुन्छ? तर त्यसको एकीन जवाफ कसैसँग छैन। यसै वर्षमात्रै विश्व शक्ति राष्ट्र अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनले साराको ध्यान खिच्यो। त्यसमा डोनाल्ड ट्रम्प थिए। सबको अनुमानविपरीत उनी फेरि विश्वशक्तिशाली नेताका रुपमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए। उनको अघिल्लो कार्यकालमा अमेरिका विश्वका कुनै पनि लडाईंमा सामेल भएको थिएन। तर उनीपछि जो बाइडनको पालामा अमेरिकाले युक्रेनलाई प्रत्यक्ष सहयोग गरिरह्यो। खुलेरै युक्रेनको पक्षमा अमेरिकाले आफूलाई उभ्यायो। त्यसको ठीक विपरीत डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि रुस-युक्रेनको युद्ध रोक्ने बाचा गरे। र सारा विश्वको ध्यान खिच्न सफल भए। राष्ट्रपति भएलगत्तै उनी यो युद्ध रोक्ने मेसोमा पनि लागेका छन्।

ट्रम्पको चाहना बमोजिम फेरि एकपटक खाडी राष्ट्र साउदी अबरले रुस र अमेरिकाबीच मध्यस्थताको भूमिका निभायो। यसअघि कतारले हमास-इजरेल युद्धबिरामका लागि भूमिका खेलेको थियो। हालैमात्र साउदी अरबमा रुस र अमेरिकी उच्चअधिकारीहरूको वार्ता भएको छ। वार्ताको नेतृत्व दुबै देशका विदेश मामिलामन्त्रीहरूले गरेका थिए। वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध रोक्नसक्ने शक्ति आफूसँग भएको दाबी गरेका छन्।
राष्ट्रपति भएसँगै कैयौं आक्रामक र विवादित कार्यकारी निर्देशनहरू लागु गर्दै आएका ट्रम्प फेरि एकपटक तीन वर्षदेखि निरन्तर चलिरहेको रुस-युक्रेन युद्ध रोक्ने अभियानमा जुटेका छन्। युक्रेनी पक्षलाई सहभागी नगराइएको अरब वार्तामा अमेरिकी र रुसी अधिकारीहरूबीच युद्ध रोक्ने सहमति भएको थियो।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भना आफ्नो देशलाई वार्तामा सहभागी नै नगराइ दुई राष्ट्रले मात्रै सल्लाह गरेको भन्दै आपत्ति जनाएका छन्। तर उनले त्यो सहमति मान्ने वा नमान्ने भन्ने बारे केही भनेका छैनन्। बरु उनले साधारण भावमा भनेका छन् ‘ट्रम्पको चाहना थियो भने युद्ध रोक्न युक्रेनले पहिला नै सम्झौता गर्नसक्थ्यो।’
वार्तापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदीमा भएको वार्तालाई सबैभन्दा कठीन र लामो यात्राको पहिलो चरण भनेका छन्। र उनले यो वार्तामा कसैलाई पनि किनारा नलगाएको दाबी गरेका छन्। तर युरोपेली देशहरूले भने युक्रेन वा युरोपको सहभागिताबिनाको वार्तालाई कुनै मान्यता दिन नसकिने बताएका छन्। युक्रेनको प्रतिरक्षामा उत्रिदैं फ्रान्स, बेलायत, जर्मनी, पोल्याण्ड, इटाली, स्पेन र डेनमार्कलगायतका देशहरूले युक्रेन वा युरोपलाई पाखा लगाएर कुनै पनि सम्झौता हुन नसक्ने भन्दै चेतावनी पनि दिएका छन्।

रुस-युक्रेन युद्ध सुरु भएको तीन वर्ष बितिसकेको छ। यो बीचमा रुसले युक्रेनको कम्तीमा २० प्रतिशत भूभाग आफूले कब्जामा लिइसकेको बताएको छ। युक्रेनले पनि लगातार रुसमाथि आक्रमण गर्दै आएको छ। रुसको आक्रमणयता लगभग ४० हजार युक्रेनीले ज्यान गुमाइसकेका छन् भने ७० लाखभन्दा धेरै नागरिकले देश छोडिसकेका छन्। ४० लाख युक्रेनी आन्तरिक शरणार्थी भएका छन्। युद्ध सुरु भएलगत्तै युक्रेनले लगभग ४ खर्ब ७ अर्ब अमेरिकी डलरबराबरको विदेशी सहायता पाएको छ। त्यो मध्ये अमेरिका एक्लैले लगभग १ खर्ब १८ अर्ब डलर दिएको छ। ट्रम्प सत्तामा आएलगत्तै अब यो सहायता भने रोकिनसक्छ। ट्रम्प प्रशासनले सहायताको बदलामा युक्रेनले आफ्नो भूमिमा भएको खनिजको आधा स्वामित्व अमेरिकालाई दिनुपर्ने प्रस्ताव गरेको थियो। तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले त्यो प्रस्ताव अस्वीकार गरिदिएका छन्। योसँगै अमेरिका रुस-युक्रेन युद्ध रोक्न अघि सरेको कतिपय विश्लेषकहरू बताउँछन्। एजेन्सीहरूकाे सहयाेगमा
