काठमाडौं, ८ फागुन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको बताउनु भएको छ।
विहीबार त्रिभुव अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले इरानका परराष्ट्र मन्त्रीले विपिन जोशीको बारेमा गम्भिर भएर लागेको जानकारी गराएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले इरानको परराष्ट्र मन्त्रीसँग पनि कुरा गरें । त्यो कुरा विपिन जोशीको नै बारेमा मूल छलफल भएको थियो । उहाँले पनि म प्रयास गर्छु तर अझै पनि तपाईहरुको र थाईको एकजनाको अवस्थाको बारेमा राम्रो जानकारी आएको छैन् । केही सूचनाहरु मागेका छौ र गम्भीर भएर लागेका छौ भन्नु भएको छ । यही कुरा कतारको प्रतिनिधिहरुले पनि गर्नु भएको थियो ।’
यसको साथै, उहाँले ओमानसँग कागजको विक्रीलाई व्यवसायिक गर्ने र पर्यटकको क्षेत्रलाई सुधार गर्ने बारेमा दुईवटा एमओयुहरु साइन भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले ओमानसँग दुईवटा एमओयुहरु पनि साइन गरेका छौ । एउटा हाम्रो कागजहरुलाई कसरी वक्री र व्यवसायिक गर्ने भन्ने कुरामा आउने दिनमा काम हुन्छ होला र अर्को पर्यटकको क्षेत्रमा पनि एमओयू गरेका छौ । पर्यटकको क्षेत्रमा नेपालसँग एकदमै नजिक भएर काम गर्न मन भएको कुरा पनि राख्नु भएको छ ।’
यसको साथै डाक्टर, इन्जिनियरहरु जस्तो मानिस पनि बाहिर गएर श्रमिकको रुपमा काम गर्नुपर्ने अवस्था पनि थाहा भएको छ । यसबारे पनि श्रम मन्त्रालयसँग बसेर कुरा गर्ने उहाँको भनाई छ ।
यस्तै, उहाँले घरेलु कामदारको रुपमा महिलाहरु जाने विषयलाई पुन विचार गरेर एउटा टिम बनाएर फिल्ड रिसर्च गरेर नै काम गर्ने पनि बताउनुभयो ।
परराष्ट्रमन्त्री ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमान भ्रमणका लागि गर्नुभएको थियो।
