लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय मेरो दायित्व’ अभियान भोलिदेखि सञ्चालन हुदै

लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय मेरो दायित्व’ अभियान भोलिदेखि सञ्चालन हुदै


  • 5.1K
    SHARES
    • फाल्गुण ८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 7.9K Views

    लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय मेरो दायित्व’ अभियान भोलिदेखि सञ्चालन हुदै

    दाङ, ६ फागुन । लुम्बिनी प्रदेश सरकारले  भोलिदेखि प्रदेशभरका १५ वटा सामुदायिक विद्यालयहरुमा एकैसाथ ‘मेरो विद्यालय मेरो दायित्व’ अभियान सञ्चालन गर्ने भएको छ।

    images

    लुम्बिनी प्रदेशभरीका विद्यालय सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधारको व्यवस्थापन तथा विद्यार्थी र शिक्षकहरूको अभिप्रेरणाका लागि अभियान थालिएको सामाजिक विकास मन्त्रालयकी प्रभक्ता शारदा बस्याल बेल्बासेले जानकारी दिनुभयो ।

    लुम्बिनी प्रदेश सरकारका अनुसार यो अभियाको सुरुको चरणमा १५ वटा जिल्लाका विद्यालयहरुमा सुरु गरिने छ  । उक्त अभियानलाई क्रमशः अन्य विद्यालयहरुमा विस्तार गरिने जानकारी दिइएको छ । साथै उक्त अभियान उद्घाटनका लागि विभिन्न मन्त्री तथा प्रदेश सभा सदस्यहरूलाई जिम्मेवारी दिइएको छ ।

    लुम्बिनी प्रदेश सरकारका विभिन्न मन्त्री तथा प्रदेश सभा सदस्यहरूको सहभागितामा उक्त अभियान सुरु गर्ने कार्यक्रम रहेको प्रभक्ता बस्यालले जानकारी दिनु भएको छ ।

    उहाँका अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयको उद्घाटन गर्ने हुनुहुने छ, भने बर्दियाको प्रिय राठौर माध्यमिक विद्यालय, गेरुवा-२ मा मन्त्री जन्मजय तिमिल्सिनाले अभियानको सुरुवात गर्ने कार्य योजना रहेको छ ।

    नारायणी माध्यमिक विद्यालय बाँकेमा आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवाल, दाङको हापुर माध्यमिक विद्यालय रतनपुरमा उर्जा जलस्रोत मन्त्री सीता शर्मा, रात्री प्राथमिक विद्यालय बेलुवा घोराहीमा उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, पूर्वी रुकुमको रुक्मिणी माध्यमिक विद्यालय रुकुमकोटमा प्रदेश सभा सदस्य धनबहादुर खत्री, रूपन्देहीको ज्ञानोदय माध्यमिक विद्यालय बुटवलमा, प्रदेश सभा सदस्य जमुना ढकालले अभियानको सुरुवात गर्ने प्रभक्ता बस्यालले जानकारी दिनु भएको हो ।

    उहाँका अनुसार नवलपरासीको जनजागृति माध्यमिक विद्यालय, बुढी पस्यौनी प्रतापपुरमा वन तथा वातावरण मन्त्री देवकरण कलवार, पाल्पाको जनता माध्यमिक विद्यालय, तानसेनमा स्वास्थ्य मन्त्री खेम सारु, गुल्मीको दुर्गा भवानी माध्यमिक विद्यालय, छापचौरमा भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल, गुल्मीको दीपक माध्यमिक विद्यालय, मदाने-७ मा कृषि मन्त्री दिनेश पन्थीले अभियान सञ्चालन गर्ने छन् ।

    कपिलवस्तुको नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरमा प्रदेश सभा सभामुख तुलबहादुर घर्ती मगर, गुल्मीको ईश्वरी माध्यमिक विद्यालय चारपाला-६ मा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, प्युठानको महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ र रोल्पाको जनज्योति माध्यमिक विद्यालय गजुल्कोटमा पूर्व मुख्यमन्त्री जोखबहादुर महराले अभियानको सुरुवात गर्ने कार्य योजना रहेको छ ।

    लुम्बिनी प्रदेश सरकारले शिक्षाको गुणस्तर सुधार गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्ने यो अभियान थालनी गरेको सामाजिक विकास मन्त्रालयका सचिवले जानकारी दिनुभयो । सामुदायिक विद्यालयहरुको सुधार र विकासका लागि प्रदेश सरकारले सामुदायिक सहभागिता, विद्यालय व्यवस्थापन समितिहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूसँग सहकार्य गर्दै अघि बढ्ने योजना बनाएको छ ।

    सामाजिक विकास मन्त्रालयका अनुसार, अभियान अन्तर्गत् विद्यालयहरूको भौतिक पूर्वाधार विकास, शैक्षिक सुधार कार्यक्रम, विद्यार्थी कल्याण योजनाहरू, स्वच्छ र सुरक्षित विद्यालय वातावरणको प्रवर्द्धन तथा विद्यालयमा प्रविधिमैत्री पठनपाठनलाई जोड दिइनेछ। प्रदेश सरकारले विद्यालयको गुणस्तर सुधारलाई दीर्घकालीन योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता सहित यो अभियान सञ्चालन ल्याएको छ ।


    तेस्रो आँखा