हेटौँडा, फागुन ९ । माझी समुदायको विशेष पर्व लदि पूजाका अवसरमा बागमती प्रदेश सरकारले यही फागुन २० गते बिदा दिने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडामा शुक्रबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माझी समुदायको विशेष पर्व लदि पूजाका अवसरमा बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले माझी समुदायको विशेष पर्व लदि पूजाका अवसरमा माझी समुदायलाई बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले लदि पूजाका अवसरमा यही फागुन २० गतेका दिन माझी समुदायलाई बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको बताउनुभयो ।
यसअघि नेपाल माझी उत्थान संघ केन्द्रीय समितिले लदि(कोशी) पूजाका अवसरमा बागमती प्रदेश सरकारसँग सार्वजनिक बिदा दिन माग गरेको थियोे ।
संघले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङलाई गत माघको अन्तिम साता ज्ञापनपत्र बुझाउँदै नेपालमा रहेका विभिन्न जातजातिहरु मध्ये छुट्टै पहिचान र विषेशता बोकेको माझी जातिको प्रमुख चाड लदि(कोशी) पूजाका सार्वजनिक बिदा दिने निर्णय गर्न माग गरेको थियो ।
माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेश र तराईका जिल्लाहरुमा प्रमुख बसोवास रहेको छ । परम्परादेखि नदी, खोलामा निर्भर माझीहरुको पुर्ख्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भएता पनि हाल कृषि पेशालाई मुख्य पेसाको रुपमा लिँदै आएका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरुको बसोबास प्रायःजसो नदी किनारमा रहेको छ ।
