काठमाडौं, चैत १३ । गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाउनुभएको छ ।
जुद्ध वारुण यन्त्र भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गणतन्त्रले केही पनि गर्न सकेन भन्ने आरोपको खण्डन गर्दै जनताको आवाज सुन्ने व्यवस्था नै लोकतान्त्रिक गणतन्त्र भएको बताउनुभयो ।
उहाँले २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक कूको प्रसङ्ग कोट्याउँदै राजतन्त्रको पहिलो निशाना सञ्चारमाध्यम बनेको बताउनुभयो । उहाँले जनताको अवाज कुल्चिएर लोकतन्त्र समाप्त पार्ने राजतन्त्र ठिक कि जनताको अवाज सुन्ने गणतन्त्र ठिक भन्दै प्रश्न गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रले गरेका कामको सञ्चारमाध्यमहरुले प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ूअहिले समाजमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ । यसको विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्ने कोसिस भैरहेको छ । लोकतन्त्रले सञ्चारको कुरा सुन्छ, गणतन्त्रले जनताको कुरा सुन्छ । गणतन्त्रले लोकतन्त्रले जनताका आवश्यकता सुन्दो रहेछ, बुझ्दो रहेछ । लोकतन्त्रले जनताको आवाज सुन्छ, पत्रकारिताको आवाज सुन्छ । राजतन्त्र उचित व्यवस्था हो कि गणतन्त्र उचित व्यवस्था हो रु मैले भन्नै परेन नि ।’
वारुण यन्त्रको सेवा तीन रोपनी सात आना जग्गामा पाँच करोड ७६ लाख ९८ हजार लागतमा निर्मित नयाँ भवनबाट सुरु भएको छ । नवनिर्मित भवन २०८१ कातिक १ गते कार्यालयलाई हस्तान्रण गरिएको थियो । ३२ जनाको दरबन्दी रहेको कार्यालयमा हाल १५ जना फायर म्यान, चार जना भारी सवारी चालक, दुई जना हललदार र दुई जना क्लिफर, एक नासु, एक खरिदार, एक सहायक कम्प्युटर अपरेटर, एक सह लेखापाल र तीन जना कार्यालय सहयोगी रहेको जनाइएको छ ।
