• ट्रेण्डिङ्ग :
सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा


  • 5.3K
    SHARES
    • चैत्र १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 8.2K Views

    सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

    काठमाडौँ, चैत १७ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गर्नुभएको छ ।

    images

    आज मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बिमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गर्नुभएको हो ।

    अर्थ मन्त्रालयले सहमति जनाइसकेकाले स्वास्थ्य बिमा बोर्डलाई थप स्रोत प्राप्तिका लागि बाटो खुलेको छ । हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको आयस्रोत बनेको थियो ।

    मन्त्री पौडेलले स्वास्थ्य बिमा कोषलाई बलियो पारेर मात्र स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले आगामी दिनमा स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा आधारित रहेर थप सुधार कार्य सरकारले अघि बढाउने बताउनुभयो ।

    केही समयअघि सार्वजनिक गरिएको बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनले राज्यबाट वेतन खाने कर्मचारीको तलबको एक प्रतिशत कर्मचारी र बाँकी एक प्रतिशत राज्यले दिनुपर्ने तथा स्वास्थ्यमा असर पर्ने पदार्थको करको रकम कोषमा जाने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ ।

    स्वास्थ्य बिमा कोष बलियो पार्न अहिलेको निर्णयले योगदान दिने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनुभयो । रासस

     


    तेस्रो आँखा