महोत्तरी, चैत २३ । महोत्तरीमा पुनः एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । यस अघि जलेश्वरमा बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको एक साता नबित्दै फेरि बालिकामाथि सामूहिक बलात्कार भएको अर्को घटना सार्वजनिक भएको छ ।
पीडित बालिकाको बुवाले दुई जना युवकहरुले छोरीलाई बिहीबार राति अपहरण गरी बलात्कार गरेको जानकारी दिनुभयो । उहाँले आफू राति कामबाट घर फर्केको बेला दुईजना युवकहरुले एक बालिकालाई कपडाले मुख छोपेर घिसारदै लगेको देखेपनि वास्ता नगरेको तर घर पुग्दा आफ्नी छोरीलाई नदेखेपछि खोज तलास गर्न निस्केको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘घरमा छोरी नभएपछि शङ्का लागेर युवकहरुले बालिकालाई लग्दै गरेको दिशातिर खोज्न जाँदा आफ्नै छोरी निर्वस्त्र अवस्था रुदै कराउँदै गरिरहेको भेटिएको र ती दुईजना युवकहरु मध्ये जनालाई आफूले लठ्ठी प्रहार गर्दा घाइते भएको र अर्को फरार भए ।’’
घटना बलवा नगरपालिकाको हो । नाबालिक छोरीमाथि अत्याचार गर्ने उपर आफूले कुटपिट गर्दा उसको खुट्टामा चोट लागेको र स्थानीय प्रहरीले छोरीमाथि बलात्कार गर्ने उपर कारबाही प्रकृया अघि नबढाएर उल्टै आफूलाई दिनभर थुनेर राखेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘पीडकको अभिभावकले प्रहरीलाई कुटपिट गरेको भनेर खबर गरेको र प्रहरीले छोरीमाथि ती युवकहरुले बलात्कार गरेको भन्दा पनि नसुनेर मलाई दिनभर थुना राख्यो । छोरीमाथि तेस्रो घटना भयो, तर मलाई प्रहरीले थुनेर राखे । हामीलाई न्याय चाहियो ।’’
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलालप्रसाद जयसवारले जिल्लामा यस घटनाबारे जानकारी आएलगतै टोली खटाई बालिकाको स्वास्थ चेकजाँच गराउन लगाएको बताउनुभयो । उहाँले पीडितबालिकालाई प्रादेशिक अस्पताल जलेश्वर ल्याएर स्वास्थ्य जाँचलगायतको प्रक्रिया अघि बढाएको बताउनुभयो । अहिले बालिका प्रहरीको संरक्षणमा सुरक्षित रहेको र आवश्यक सबै कानुनी प्रक्रिया भइरहेको डीएसपी जयसवारले बताउनुभयो ।
डीएसपी जयसवारको अनुसार आरोपी मध्येको एकजना प्रहरीको निगरानीमा खुट्टाको उपचारमा रहेको र अर्को फरार रहेकाले उसको खोजी भइरहेको बताउनुभयो । उहाँले आरोपीहरु दुबै जना नाबालिक रहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको बताउनुभयो ।
डीएसपी जयसवारले पीडितलाई नै स्थानीय प्रहरी चौकीले दिनभरी थुनेर राखेको भन्ने बारे तत्काल यसको सूक्ष्म अनुसन्धान गर्ने र प्रहरी दोषी देखिए विभागीय कारबाही गरिने बताउनुभयो । उहाँले चोट लागेका व्यक्ति बलात्कार आरोपी भएको बारे प्रहरीलाई थाहा नभएको हुन सक्ने भएकाले यी कुरा अनुसन्धानबाट खुल्ने बताउनुभयो ।
यसअघि एक साता अघि एक बालिकालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिकाका १७ वर्षीय किशोरलाई प्रहरीले सोमबार पक्राउ गरी कानुनी प्रकृया अघि बढाएको छ ।
बालिकाको अभिभावकको जाहेरीपछि प्रहरीले आरोपीलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिनुभयो । आइतबार अपराह्न आरोपीले घरबाहिर खेलिरहेका बालिकालाई घरको भान्सा कोठामा लगेर बलात्कार गरेको बताइएको छ ।
पीडक पक्षले घटना मिलाउन दबाब दिए पनि पीडितबालिकाका बाबुले अस्वीकार गरेपछि आरोपीलाई उसका अभिभावकले भगाएका थिए ।
घटना सम्वेदनशील रहेको र यसबारे भोलीपल्ट सोमबार मात्र जानकारी आएको बताउँदै एसपी पोखरेलले सोही दिन साँझ नै आरोपीलाई लुकाइछिपाई राखेको अवस्थामा घरबाटै प्रकाउ गरेको जानकारी दिनुभयो । घटना मिलाउन पीडक पक्षबाट दबाब आएको जानकारी पाएको बताउँदै उहाँले पीडितबालिका र उनका अभिभावकको सम्पूर्ण सुरक्षालाई गम्भीरताका साथ लिएको उल्लेख गर्नुभयो ।
बालिकालाई असह्य पीडा भएपछि प्रादेशिक अस्पताल लगेर उपचार गराइएको थियो । प्रहरीमा जाहेरीपछि बालिकाको स्वास्थ्य परीक्षण समेत गराइएको छ ।
