काठमाडौं, ५ चैत । रौतहट जिल्लामा होली मनाउने क्रममा केही ठाउँमा झडप भएको छ। रौतहट कटहरिया नगरपालिका ९ डुमरियामा शुक्रबार राति होली मनाउने क्रममा झडप भएको हो।
कटहरिया ९ डुमरियामा वडाध्यक्ष रामाज्ञा राय यादव र ओमप्रकाश साह गरी दुई पक्षमा होली भएकोमा झडप भएको हो। झडपकै क्रममा दुई राउन्ड गोली पनि चलेको छ। गोली कुन पक्षले चलाएको हो भन्ने यकिन खुलेको छैन।
होली मनाउने क्रममै दुई पक्षबीच झडप र ढुंगा हानाहान हुँदा तिन जना घाइते भएका छन्। प्रहरीकाअनुसार स्थानीय राजकुमार यादव, महबुब मिया र जटाशंकर साह घाइते भएका छन्।
जसमध्ये यादव र मियालाई उपचारको लागि वीरगन्ज पठाइएको छ भने साहको उपचार गरुडामा भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
घटनाको अनुसन्धानको क्रममा सोधपुछको लागि वडाध्यक्ष रामाज्ञा राय यादवसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। यसैगरी रौतहटको गढीमाई नगरपालिकाको धर्मपुरमा पनि होली खेल्ने क्रममा दुई पक्षबीच झडप भएको बताइएको छ।
रौतहटमा शनिवार आज पनि होली मनाइँदैछ। मधेसी समुदायले शुक्रबार र शनिबार दुई दिन होली मनाउने गरेको छ। यस वर्ष ३ र ४ गते होली पर्व परेको थियो। तीन दिन लगातार होली पर्व मनाउँदा झडप भएको हो।
