काठमाडौं, ८ बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकले उठाएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध भएको बताउनु भएको छ।
मन्त्री खड्काले आज गृहजिल्ला सङ्खुवासभाका शिक्षकसँग आज यहाँ गरेको अन्तरक्रियामा आन्दोलनरत शिक्षकको जायज मागप्रति सरकार सकारात्मक रहेको बताउनु भएको छ । शिक्षकहरूले उठाएका मागहरू समाधान गर्न शिक्षामन्त्री, प्रधानमन्त्री तथा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
“प्रधानमन्त्री, मन्त्री वा जुनसुकै तहको नेतृत्वमा पुग्दा शिक्षकको योगदान अविस्मरणीय छ, शिक्षकहरू सधैँ सम्मानित र आदरणीय पात्र हुनुहुन्छ”, उहाँले भन्नुभयो । उहाँले संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्मको यात्रा शिक्षकको योगदान महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
“माओवादी जनयुद्ध, विभिन्न द्वन्द्व, भूकम्प, कोरोना महामारी तथा विश्वव्यापी आर्थिक असन्तुलनका समयमा शिक्षक मात्र होइन, सम्पूर्ण राष्ट्र प्रभावित भयो, अहिलेको आर्थिक सुधारको चरणमा शिक्षकको आन्दोलनले विकासमा अवरोध पुर्याउन सक्छ, त्यसतर्फ पनि सरकारले हेर्नुपर्ने अवस्था छ,” मन्त्री खड्काले भन्नुभयो ।
उहाँले मुलुक निर्माणमा सरकार पक्ष वा विपक्ष सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकाले सबैले सघाउनुपर्ने बेला आएको बताउनुभयो । मन्त्री खड्काले ऐन संशोधनजस्ता विषयहरू कानुनी प्रक्रिया भएकाले ढिलो हुन सक्ने भएकाले विगतमा भएका सहमति कार्यान्वयनको प्रयासमा सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।
वार्ता र छलफल नै समस्या समाधानको एकमात्र उपाय हो, शिक्षकहरूको आन्दोलन जायज भए पनि सडक आन्दोलनको अवस्थामा गणतन्त्र विरोधी शक्तिहरूले फाइदा उठाउन सक्ने सम्भावनालाई आन्दोलनरत पक्षले पनि विचार गर्नुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री खड्काले आन्दोलनका कारण विद्यार्थीहरू शिक्षाबाट वञ्चित नहोस् भन्ने चिन्तामा सरकार रहेको बताउनुभयो । आन्दोलनलाई वार्तामार्फत समाधान गर्न आन्दोलनरत पक्षलाई उहाँले आग्रह गर्नुभयो ।
नेपाल शिक्षक सङ्घ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईंले शिक्षकहरूको मागलाई सरकारले बेवास्ता गर्न नहुने भन्दै मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले २० दिनदेखि शिक्षकहरू मर्यादित तरिकाले सडक सङ्घर्षमा रहेको भन्दै सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
