काठमाडौं, १० बैशाख । संघीय संसदको आगामी वर्षे अधिवेशन सुरु हुनुअघि संसद सञ्चालनसँग जोडिएका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरे र प्रतिनिधिसभाका प्रमुख सचेतकहरूको बैठकमा बस्दैछ ।
बैठकमा वैशाख १२ गतेबाट सुरु हुन लागेको संसदको वर्षे अधिवेशन, प्रतिनिधिसभाको क्यालेन्डर, तथा अधिवेशनमा अघि बढाइने कार्यसूचीबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ । संविधानअनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकोले संसद्ले बजेटअघि गरिने तयारीलाई व्यवस्थित गर्नुपर्ने अवस्था आएको छ । प्रिबजेट छलफल तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा पनि छलफल केन्द्रित हुने बताइएको छ ।
सरकारले यसपटक नीति तथा कार्यक्रमलाई प्रिबजेट छलफलभन्दा अगाडि ल्याउने तयारी गरेको छ । त्यस्तै, अधिवेशनभित्र विद्यालय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक लगायतका महत्वपूर्ण विधेयक पारित गर्ने लक्ष्य राखिएको छ । अन्य थुप्रै विधेयकहरू पनि संसदीय प्रक्रियामा अघि बढाइने तयारीमा छन् ।
