काठमाडौं, १० बैशाख । भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किनु भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको निमन्त्रणामा काठमाडौं आउनुभएका मन्त्री खट्टरको भ्रमणले नेपाल-भारतबीचको ऊर्जा सहकार्यलाई नयाँ गति दिएको छ।
नेपालमा उत्पादित विद्युत निकासीकालागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि द्विपक्षीय समझदारीले नेपाललाई समृद्धिको यात्रामा डोर्याउन मार्ग प्रशस्त गरेको छ ।
प्रशारण लाइनको अभावमा नेपालमा उत्पादित विद्युत खेर जान सक्ने चिन्ताकाबीच भारतसँग ४०० केभी क्षमताका अन्तर्देशीय ३१० किलोमिटर प्रशारणलाइन निर्माणकालागि सम्झौता हुनु ऐतिहासिक कदम भएको ऊर्जाविद्हरुको भनाई छ । अब बन्ने इनरुवा-न्यु पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी रहनेछ भने दोदोधारा–बरेली प्रसारण लाइन नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहने छ । यी प्रसारण संरचनाले भारत–नेपाल विद्युत् कारोबारलाई सहज बनाउँदै ऊर्जा प्रवाहलाई भरपर्दो बनाउनेछ।
दुई देशबीच भएको सम्झौतामा नेपालको पूर्वी क्षेत्रमा उत्पादित विद्युत इनरुवा-न्यु पूर्णिया अन्तरदेशीय प्रशारणलाइनबाट भारतसहित तेस्रो मुलुक बङलादेशसम्म बिक्री गर्ने बाटो खुल्नेछ ।
त्यस्तै नेपालको दोदोधारा र भारतको बरेली प्रसारण लाइन निर्माणपछि नेपालको पश्चिम क्षेत्रमा उत्पादित बिजुली भारतलगायत तेस्रो मुलुकमा बिक्री गर्न सहज हुनेछ ।
समझदारी पत्र हस्ताक्षर समारोहमा सम्बोधन गर्नुहुँदै ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले इनरुवा-न्यु पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइन केवल संरचना मात्र नभएर दुई देशबीचको आपसी विश्वास र दीगो विकासतर्फको साझा यात्रा पनि रहेको बताउनु भयो । उहाँले भन्नुभयो, "हामीले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौं। भारतका समकक्षी मन्त्री खट्टरजीको भ्रमणले यो लक्ष्य प्राप्तिका लागि आवश्यक संरचना र सहकार्यमा महत्वपूर्ण टेवा पुर्याउनेछ।"
सो समारोहमा बोल्नुहुँदै भारतीय मन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रमा भएको प्रगति भारतकालागि समेत महत्वपूर्ण हुने भन्दै अन्तरदेशीय प्रशारणलाईन निर्माणका लागि सम्झौता हुनु खुशीको कुरा भएको बताउनुभयो । मन्त्री खट्टरले गोरखपुर-बुटवल प्रसारण लाइन निर्माण सुरु भएसँगै नयाँ परियोजनाहरूले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले नेपालमा उत्पादित विद्युत् भारत हुँदै बङ्गलादेश निर्यात हुनु ऐतिहासिक उपलब्धि भएको पनि बताउनुभयो ।
भ्रमणका क्रममा मन्त्री खट्टरले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग संयुक्त रूपमा संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको थियो। दुबै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्र निरीक्षण गर्दै निर्माण कम्पनीका प्रतिनिधिसँग प्रगतिको जानकारी लिएका थिए। सो अवसरमा युनिट–२ को संयुक्त उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षारोपण पनि गर्नु भएको थियो ।
भ्रमणका क्रममा मन्त्री खट्टरले पशुपतिनाथ मन्दिर र मुक्तिनाथ मन्दिरमा विशेष पूजा-अर्चना गर्नुभएको थियो । मुक्तिनाथ यात्रा क्रममा उहाँसँग ऊर्जामन्त्री खड्का र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुनुहुन्थ्यो।
भ्रमणकै क्रममा मन्त्री खट्टरले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र उप प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
