• ट्रेण्डिङ्ग :
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली आकाश सुरक्षित रहेको सन्देश दिनुपर्नेमा सांसदहरूको जोड

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली आकाश सुरक्षित रहेको सन्देश दिनुपर्नेमा सांसदहरूको जोड


  • 2.6K
    SHARES
    • बैशाख १५, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 4.0K Views

    अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली आकाश सुरक्षित रहेको सन्देश दिनुपर्नेमा सांसदहरूको जोड

    काठमाडौं, १५ बैशाख । प्रतिनिधि सभा सदस्यहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली आकाश सुरक्षित रहेको सन्देश दिनुपर्ने बताएका छन् ।

    images

    प्रतिनिधि सभाको सोमबारको बैठकमा “नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस्” भन्ने प्रश्तावमाथि छलफल गर्दै उनीहरूले यस्तो बताएका हुन् ।

    सो अवसरमा बोल्दै नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ र युरोपेली युनियन (इयु)ले नेपाली आकाशलाई कालोसूचीमा राखेको बताउँदै अन्तर्राष्ट्रिय जगतलाई नेपालको सेवा विश्वसनीय र भरपर्दो रहेको सन्देश दिनुपर्ने बताउनुभयो ।

    उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको आकाश सुरक्षित रहेको विश्वास दिलाउँदै नेपाली आकाशमा सजिलै यात्रा गर्न सक्छौँ भन्ने सन्देश ऐनका माध्यमबाट दिनु आवश्यक बताउनुभयो ।

    आइकाओ र इयुको कालोसूचीबाट हटाउनको लागि नेपालको आकाश सुरक्षित र कानुन पारदर्शी छ भन्ने सन्देश दिने गरी अगाडी बढ्न जरुरी रहेको उहाँले जोड दिनुभयो ।

    नेकपा (एमाले) का सांसद एकनाथ ढकालले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास तथा बिस्तार गर्न प्रभावकारी नियमन गरी नागरिक उड्डयन सेवालाई सुरक्षित, नियमित, गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन विधेयक पेश गर्नु स्वागतयोग्य रहेको बताउनुभयो ।

    उहाँले बलियो नियामक निकायको अभावले हवाई दुर्घटना दोहोरिएको भन्दै उठाइने चासोलाई विधेयकले सम्बोधन गर्ने अपेक्षा राख्नुभयो। उहाँले उक्त विधेयकलाई आवश्यकताअनुसार थप परिष्कृत र परिमार्जन गरी अगाडी बढाउनु उपयुक्त हुने जिकिर गर्नुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विधेयकमा स्वतन्त्र अपिल न्यायाधिकरणको व्यवस्था उल्लेख गर्नुपर्ने बताउनुभयो । उहाँले भारत र अस्ट्रेलियालगायतका देशहरूमा नागरिक उड्डयन सम्बन्धी विवाद सुल्झाउन विशेष अपिल निकायहरू रहेको बताउँदै विधेयकलाई उक्त कुरालाई समावेश गर्न आग्रह गर्नुभयो ।

    उहाँले स्वतन्त्र अपिल न्यायाधिकरणको व्यवस्थाले कानूनी निरूपणमा अदालतको बोझ हटाउनुका साथै छिटोछरितो हिसावले द्वन्द्वको पनि समाधान गर्न मद्दत पु¥याउने जिकिर गर्नुभयो ।

    उहाँले विधेयकले प्राधिकरणलाई आर्थिक स्वायत्तता दिएको भएपनि त्यसको जिम्मेवारीलाई सिर्जना नगरेको बताउँदै बाह्य लेखा परीक्षणको दायित्व थप गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    छलफलमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारी निकायलाई स्वायत्त बनाउनु उपयुक्त नहुने धारणा राख्नुभयो । उहाँले विधेयकमा स्वायत्त प्राधिकरण भनेर उल्लेख गरिएको भन्दै त्यो नमिल्ने बताउनुभयो ।

    सुवालले वायुयान, बैङ्क, वित्तीय संस्था, शिक्षा, स्वास्थ्य, खाद्यान्नसँग सम्बन्धित जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै हवाई सेवालाई निजीको जिम्मा दिनु गलत रहेको धारणा राख्नुभयो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । प्रश्तावमाथि छलफल गर्दै सांसदहरूले हवाई सेवालाई सुरक्षित बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।


    तेस्रो आँखा