काठमाडौं, १९ बैशाख । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा शाह बिहीबार राति मृत फेला परेकी छन् । वीरगन्ज निवासी शाहको शव कलेजकै होस्टेल कोठामा झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
स्नातक तह दोस्रो सेमेस्टरमा अध्ययनरत शाह रूपन्देहीका विद्यार्थी सुयोग लम्सालकी कक्षासाथी हुन् । उनका अनुसार घटनापछि सबै विद्यार्थी स्तब्ध छन् । ‘एकाएक यस्तो घटनाले नेपाली मात्रै होइन, सबै विद्यार्थी आत्तिएका छन्,’ लम्सालले भनिन्, ‘शाह मेहनती, शालीन र सबैसँग राम्रो व्यवहार गर्ने विद्यार्थी थिइन् ।’
प्रिसा शाह अर्को एक जना नेपाली छात्रासँग होस्टेलमा बस्दै आएकी थिइन् । शव फेला परेपछि कलेज प्रशासन, स्थानीय प्रहरी र नेपाली दूतावासका प्रतिनिधिहरू घटनास्थलमा पुगेका छन् । भुवनेश्वर प्रहरीले शव परीक्षण (पोस्टमार्टम) शाहको परिवार नआएसम्म नगर्ने जनाएको छ ।
परराष्ट्र मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिँदै तत्काल कूटनीतिक पहल थालेको जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत सरकार, ओडिसा राज्य सरकार तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत सत्यतथ्य छानबिनका लागि आवश्यक पहल गरिरहेको जानकारी दिनुभएको छ।
उक्त कलेजमा यसअघि पनि यस्तै दुःखद घटना भइसकेको थियो । गत ४ फागुनमा केआईआईटीमै अध्ययनरत भैरहवा निवासी २० वर्षीया प्रकृति लम्साल होस्टेलमा मृत फेला परेकी थिइन् । त्यतिबेला पनि मानसिक दुर्व्यवहार र ब्ल्याकमेलको आरोप उठेको थियो र कलेज प्रशासनको भूमिकामाथि प्रश्न उठाइएको थियो । त्यसपछि राष्ट्रिय मानव अधिकार आयोग, भारतले विश्वविद्यालयको निष्क्रियतालाई गम्भीर लापरवाहीको संज्ञा दिएको थियो ।
हाल केआईआईटीमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । लगातार यस्ता घटनाले विद्यार्थी तथा अभिभावक समुदायमा त्रास फैलिएको छ । विद्यार्थीहरू भन्छन्, ‘हामी सुरक्षित छैनौं, मानसिक रूपमा निरन्तर दबाबमा छौं, यस्ता घटनाको गहिरो र निष्पक्ष छानबिन हुनु जरुरी छ ।’
