काठमाडौं, २३ बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको विवाद समाधान गर्न निर्देशन दिनुभएको छ । प्रसाराण लाइनअन्तर्गत पर्ने बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री खड्काले आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभयो। बाँकेको बैजनाथ गाउँपालिका(४ बाँनियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण ३ विद्युत टावर निर्माण हुन सकेको छैन।
जसका कारण आयोजना निर्माणमा भइरहेको ढिलाइका बारेमा मन्त्री खड्काले चासो राख्नुभएको हो । ‘स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनु’ मन्त्री खड्काले निर्देशन दिँदै आयोजना प्रमुखलाई भन्नुभयो।
उहाँले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितको पुनर्वासको सुनिश्चितता गर्न पनि भन्नुभएको छ। आयोजना प्रमुख चौधरीले स्थानीयबासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराउनुभयो ।
उक्त क्षेत्रमा ३ वटा विद्युत टावर बन्न बाँकी रहेको उआयोजना प्रमुखको भनाइ छ। २०७७ भदौमा सम्झौता भई २ वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्ट खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता थियो। तर, स्थानीयको अवरोधका कारण काम ढिलाइ भएको छ।
