• ट्रेण्डिङ्ग :
चीन लगायतका देशमा काेराेना बढ्न थालेपछि नेपालमा त्रास, के भन्छन् विज्ञ ?

चीन लगायतका देशमा काेराेना बढ्न थालेपछि नेपालमा त्रास, के भन्छन् विज्ञ ?


  • 10.5K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 16.1K Views

    चीन लगायतका देशमा काेराेना बढ्न थालेपछि नेपालमा त्रास, के भन्छन् विज्ञ ?

    काठमाडौं, ७ चैत्र । चीनमा कोरोना महामारी पुनः बढ्न थालेपछि नेपालमा पनि अर्को लहरको आशंका पैदा भएको छ। हाल चीन लगायत हङकङ, सिंगापुर, भियत्नाम, दक्षिण कोरियामा कोरोनाका संक्रमितहरु बढ्न थालेका छन्।

    images

    नेपालमा आशंका भए पनि ठूलै लहरको सम्भावना नभएको विज्ञहरुको भनाइ छ। सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन यसअघि नेपालमा फैलिएका भेरियन्टहरु नै उक्त देशहरुमा फैलिएकाले पुनः ठूलै लहरको सम्भावना नभएको बताउँछन्।

    तेस्रोआखाँसँगको कुराकानीमा उनले भने, 'भारतमा फैलिएको सबै लहरहरु नेपाल आएका छन्। तर, चीन लगायतका अन्य देशहरुमा फैलिएको कोरोनोको लहर नेपाल आएको पाइदैन। र अर्कोे कुरा हाम्रो देशमा फैलिएर गएको भेरियन्टहरु चीन लगायतका देशहरुमा पुनः सलबलाउन थालेको हो त्यसैले नेपालमा अर्को लहरको सम्भावना कम देखिएको हो।'

    हालसम्म नेपालमा ९३ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन्। डा. पुनले खोप नलागएका बालबालिका र दीर्घ रोग भएका जेष्ठ नागरिकलाई अलि बढी समस्या हुने बताए। पुनका अनुसार अबको लहरमा विशेष गरी खोप नलगाएका व्यक्तिहरु कोरोना महामारीको चपेटामा पर्ने छन्।

    यस अघिको कोरोना महामारी फैलिएको समय हेर्नेहो भने बैशाख सुरु हुन बाँकी छ। बैशाखमै सरकारले स्थानीय तहको निर्वाचनसमेत घोषणा गरेको छ। गत वर्षको बैशाखमा सुरु भएको दोस्रो लहरले ठूलो मात्रामा प्रभाव पारेको थियो। डा. पुन दोस्रो लहर आउँदा धेरैले खोप नलगाएका कारण पनि धेरै संक्रमित भएको बताउछन्।

    उनले भने, 'कोेरोन महामारी सकियो भन्न मिल्दैन। खोप लगाए पनि सुरक्षाका मापदण्डहरु अपनाइ राख्नु पर्ने हुन्छ। हामीले अपनाएको सुरक्षाको मापदण्डकै कारण महामारी कम हुने हो।'

    नेपालमा खाेपकाे अवस्था के छ ? 

    नेपालमा कुल लक्षित जनसंख्याको ८१ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्ष भन्दा माथिका एक करोड ६१ लाख ८४ हजार ८५८ जनाले कोरोना भाइरस विरुद्धको पूर्णमात्राको खोप लगाएका छन्। 

    यस्तै, पहिलो मात्रा लगाउनेको संख्या ९३ प्रतिशत रहेको छ।  मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्। 

    साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ ।

    मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ । जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो।

    नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ । केही मात्र अनुदान सहयोग तथा अरु केही खरिद गरेर सरकारले कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको थियो ।

    नेपालमा हाल तीन हजार ९९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन् । कोभिड सङ्क्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये नौ लाख ६२ हजार १७३ जनाले कोभिडलाई पराजित गरेका छन् । यस सङ्क्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

    नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । ‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब सात प्रतिशत जनसङ्ख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ । १८ वर्षमुनिको उमेर समूहमा पनि पूर्ण मात्राको खोप पाउन अब नौ प्रतिशत जनसङख्या मात्र बाँकी छ।


    तेस्रो आँखा