काठमाडौँ, २४ बैशाख । नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिनामा संलग्न १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
बुधवार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बदनियत पूर्ण रूपमा जग्गा भाडामा लिने–दिने प्रक्रियामा संलग्न देखिएका १७ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
मुद्दा दर्ता हुनेहरूमा गणेशमान सिंहकी छोरी तथा नेपाल बाल सङ्गठनकी तत्कालीन अध्यक्ष रिता सिंह, नेपाल बाल सङ्गठनका तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, नेपाल बाल सङ्गठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ रहेका छन् ।
यस्तै कृष्ण शङ्कर साह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, प्रचण्ड राज प्रधान, राम काजी गुरुङ कोने, योगेन्द्र बहादुर शाही, दीपकदास श्रेष्ठ, प्रवीण राज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा संघाई रहेका छन् ।
त्यस्तै अन्य ३ जना भारतीय नागरिकविरुद्ध पनि मुद्दा चलाइएको छ । जसमा भारत घर भएका बृहस्पति विद्यालय व्यवस्थापन प्रा।लिका सञ्चालक अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्ति प्रसाद पाण्डेय रहेका छन् ।
ठगी मुद्दामा उनीहरूबाट ६० करोड बढी माग दाबी गरिएको छ । अनाथ बालबालिकाको हेरचाह र रेखदेखका लागि पञ्चायतकालमै सरकारले बाल मन्दिरका नाममा कायम गरेको जग्गा बाल संगठनले २०४९ सालमा बृहस्पतिलाई भाडामा दिएको थियो ।
सम्झौताको म्याद पटक–पटक थप्ने क्रममा २०७२ मा पूरक सम्झौता गरेर २१३१ सालसम्म ‘लिज’ अवधि लम्ब्याइएको थियो । जग्गा हिनामिनाका विषयमा कान्तिपुरले २०७८ फागुनमै विस्तृतमा समाचार बाहिर ल्याएको थियो । तर अनुसन्धान रोक्न चलखेल हुँदै आएको थियो ।
बाल सङ्गठनकै निवेदनअनुरूप प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले हिनामिनासम्बन्धी अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा केही महिनाअघि बुझाएको थियो ।
त्यही प्रतिवेदनअनुसार ठगीमा मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयले निर्णय गरेको हो ।
