काठमाडौं, ७ चैत। अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न् ।
मेल्लेख गाउँपालिका–३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन् ।
आफ्नो बारीमा भैँसीले घास खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेको बताइएको छ । हँसिया प्रहारबाट रंगदेवीको नाक, मुख र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ भने अमृता पक्राउ परेकी छन् ।
